बाढीपीडितको राहतका लागि क्यानले दियो ३० लाख

जनकपुरधाम, १३ भदौ । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जनाएको हो ।
क्यानका सचिव पारस खड्कका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले संकटको समयमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
देशका विभिन्न जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला क्यानले राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


