त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन

जनकपुरधाम, १३ भदौ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो ।
सुरुङभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउने काम अघि बढाएको छ ।
सुरुङको मुख खोल्दै खोजी कार्यलाई गति दिन नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली शुक्रबार रातिदेखि नै निरन्तर खटिएको दहालले जानकारी दिइन् ।

तर, घटनास्थलमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । लेदो र भग्नावशेषका कारण सुरुङ प्रवेशद्वारसम्म पुगेर खोजी अघि बढाउन कठिनाइ भइरहेको जनाइएको छ ।
यसैबीच, उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरिरहेको छ ।
अनुगमनपछि आवश्यकताअनुसार थप उद्धार कार्यमा टोली परिचालन गर्ने तयारी छ ।
सरकारले सुरुङभित्र फसेका भनिएका व्यक्तिहरूको अवस्था यकिन गर्दै सुरक्षित उद्धारलाई प्राथमिकतामा राखेर खोजी तथा उद्धार अभियान अघि बढाइरहेको जनाएको छ ।


