जनकपुरधाम, १३ भदौ । रसुवातर्फबाट आएको बाढीका कारण त्रिशूली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि पश्चिम चितवनका नदी किनारका बस्ती जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायतका क्षेत्रमा बाढीको जोखिम बढेको हो ।

नदीको बहाव बढेसँगै नारायणीले धार परिवर्तन गर्नसक्ने अवस्था देखिएको भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर मन्त्रालयका संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार विगतमा गरिएको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको नारायणी करिडोर क्षेत्रमा पछिल्ला वर्षमा नदीको बहाव र थेग्रानको व्यवहार परिवर्तन भएको देखिएको छ । त्यसैले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ ।

बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा परिचालन भएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञसहितको प्राविधिक टोलीसमेत घटनास्थलतर्फ पठाइएको छ ।

सम्भावित कटान रोक्न नारायणी नदी किनारमा तटबन्ध निर्माणका लागि आवश्यक ठूला ढुङ्गा जुटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । निर्माण सामग्रीको उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समेत समन्वय भइरहेको छ ।

त्यस्तै, नारायणी नदीमा देखिएको जोखिमको दीर्घकालीन समाधानका लागि विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गर्ने काम अघि बढाइएको छ ।

उता, बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले जलमापन केन्द्रहरू बगाएपछि तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर निगरानी गर्ने तयारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापनालाई पनि प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पालना गर्न र जोखिम बढेमा ढिला नगरी सुरक्षित स्थानमा सर्न अनुरोध गरेका छन् ।

बाढीको जोखिम बढिरहेका बेला स्थानीय तह, प्रदेश सरकार, सुरक्षा निकाय र सम्बन्धित प्राविधिक निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै, यस विषयमा तत्काल पहल गरी समन्वयमा सक्रिय भूमिका खेलेको भन्दै मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयप्रति धन्यवादसमेत व्यक्त गरिएको छ ।