जनकपुरधाम, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा प्रहरीले धादिङबाट २९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नगद राखिएको सेफ बगाएर धादिङसम्म ल्याएको थियो । उक्त सेफ गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा फेला परेको थियो ।

सेफ फेला पारेपछि स्थानीय केही व्यक्तिले तोडफोड गरी त्यसमा रहेको नगद निकालेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाबारे शुक्रबार जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरी अनुसन्धान तथा खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश गल्छी गाउँपालिका–४ र ६ का स्थानीय बासिन्दा छन् । त्यस्तै, सिद्धलेक गाउँपालिकाका तथा चितवन र पर्सा जिल्ला घर भई हाल गल्छीको आदमघाट क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद रकमको वास्तविक स्रोत पहिचान गर्ने तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश दाहालका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद नगदबारे थप अनुसन्धान भइरहेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा चोरी भएको रकमको यकिन विवरण संकलन गर्ने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ ।