भोटेकोशीको बहाव पुनः बढ्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम, १२ भदौ । रसुवा–चीन सीमातर्फ भोटेकोशी नदीमा पुनः बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शुक्रबार राति ८ः५४ बजे जिल्ला प्रहरी कार्यालय रसुवाले चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशीमा बाढीको बहाव पुनः बढेको जनाएको हो ।
बाढी बढेसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम थपिन सक्ने भन्दै मुग्लिनसम्मका नदी आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइसकेको छ ।
पछिल्लो समय नदीको बहावमा पुनः वृद्धि देखिएपछि तटीय क्षेत्रका बासिन्दालाई थप सचेत रहन आग्रह गरिएको हो ।

