जनकपुरधाम, १२ भदौ । रसुवा, नुवाकोटलगायत भोटेकोशी–त्रिशूली करिडोरमा बाढीपछि जारी खोज तथा उद्धार अभियानलाई सरकारले तीव्र बनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना उद्धार तथा खोजीमा खटिएका छन् ।

सरकारका अनुसार हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरुङबाट उद्धार गरिएका १९१ जना र शुक्रबार हवाई उद्धार गरिएका ५१७ जना पनि यसमा समावेश छन् ।

नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरमार्फत धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ । हालसम्म ९९ वटा हवाई उडान गरिएको प्रधानमन्त्री शाहले बताए ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने कामसमेत भइरहेको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ६ उडान गरी राहत सामग्री पुर्‍याइएको छ । सञ्चार सम्पर्क सहज बनाउन आवश्यक सञ्चार उपकरणसमेत प्रभावित क्षेत्रमा पठाइएको छ ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिक तथा कामदारको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । अपर त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा विशेष उपकरणसहित खोज तथा उद्धार जारी रहेको जनाइएको छ ।

बेपत्ताको खोजीलाई तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ । रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको छ ।

त्यस्तै, हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान भएको सरकारले जनाएको छ । विदेशी नागरिकको खोज, उद्धार तथा परिवार र सम्बन्धित दूतावाससँग समन्वय गर्न परराष्ट्र मन्त्रालयले Emergency Control Room सञ्चालनमा ल्याएको छ ।

भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग नलिएको भन्ने प्रचार गलत भएको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन् । उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय भइरहेको उनले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा पुनःबाढीको जोखिमलाई समेत सरकारले निरन्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ । यस क्रममा २ लाखभन्दा बढी SMS Alert मार्फत नागरिकलाई पूर्वसूचना दिइएको छ ।

सडक सम्पर्क पुनःस्थापनामा पनि प्रगति भएको सरकारले जनाएको छ । वैकल्पिक सडकमार्गबाट साना चारपाङ्ग्रे सवारी सञ्चालन सुरु भएको छ भने काठमाडौं–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । काठमाडौं–टोखा–छहरे हुँदै धुन्चेसम्मको वैकल्पिक सडकमार्गसमेत साना सवारीका लागि सुचारु भएको जनाइएको छ ।

क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ भने नियमित सडक सम्पर्कका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलिब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ ।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन र सरसफाइको व्यवस्था मिलाइएको छ । नुवाकोटमा चार वटा खानेपानी ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ ।

नुवाकोटमा डिजेल ४१ हजार र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धनसमेत पठाइएको सरकारले जनाएको छ ।

बाढीबाट सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार तथा जलविद्युत् संरचनामा पुगेको क्षतिको विस्तृत मूल्यांकनसमेत सुरु भएको छ । त्यसका लागि विभिन्न क्षेत्रगत समूह तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ । ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

दूरसञ्चारतर्फ प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएको सरकारले जनाएको छ ।

विद्युततर्फ नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा पुनः सञ्चालनका लागि काम भइरहेको छ ।

जोखिममा रहेका परिवारका लागि Emergency Shelter तथा सुरक्षित स्थानमा स्थानान्तरणको काम अघि बढाइएको छ । सडक तथा पुल अवरुद्ध भएका बस्तीमा आवतजावत सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको कामसमेत अघि बढाइएको छ ।

सरकारले बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत तथा उद्धारका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package समेत तयार गर्ने काम अघि बढाइएको छ ।

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था पनि अघि बढाइएको छ ।

यसैबीच, प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन् । विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्‍याएको भन्दै उनले ढाँटलाई धन्यवादसमेत दिएका छन् ।

प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले विपद्बाट प्रभावित नागरिकको उद्धार र सुरक्षामै केन्द्रित रहेको बताएका छन् । प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र त्यहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।