११ जलविद्युत् आयोजनाका ९३४ कर्मचारीको अवस्था अज्ञात

जनकपुरधाम, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत सयौँ कामदार तथा कर्मचारीलाई प्रभावित बनाएको छ । बाढीका कारण दुवै जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अनुसार बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । तीमध्ये ११ वटा आयोजनामा कार्यरत कामदार तथा कर्मचारीहरू अझै परिवार र सम्बन्धित निकायको सम्पर्कमा आउन सकेका छैनन् ।
बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवाका जलविद्युत् आयोजनामा परेको छ । जिल्लाका ६ वटा आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन छन् ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७६ जना सम्पर्कविहीन रहेको जनाइएको छ । आयोजनामा कार्यरतमध्ये हालसम्म २५४ जनाको सकुशल उद्धार गरिएको छ ।
त्यस्तै, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमेका ८ जना र ५ मेगावाटको मैलुङ खोलाका ७ जना सम्पर्कविहीन छन् ।
निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा कार्यरत ४ जना पनि अझै सम्पर्कमा आउन सकेका छैनन् ।
बाढीले नुवाकोटका जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्याएको छ । जिल्लाका पाँच वटा आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन रहेको तथ्यांक छ ।
निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनामा १५८ जना सम्पर्कविहीन छन् । त्यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना पनि सम्पर्कविहीन छन् ।
मिडल त्रिशूली गंगामा कार्यरत २ जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना पनि सम्पर्कविहीन रहेको संघले जनाएको छ ।
बाढीले सडक तथा यातायातको संरचना क्षतिग्रस्त बनाएपछि सम्पर्कविहीनहरूको खोजी तथा उद्धार थप चुनौतीपूर्ण बनेको छ । सडकमार्गबाट तत्काल पुग्न नसकिने अवस्थाका कारण आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि हवाई माध्यमको आवश्यकता देखिएको छ ।
विशेषगरी लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए र चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको ऊर्जा उत्पादकहरूको भनाइ छ ।
एकातिर बाढीले आयोजनाका संरचना र पहुँचमार्गमा क्षति पुर्याएको छ भने अर्कोतर्फ आयोजनामा कार्यरत सयौँ व्यक्तिसँग सम्पर्क हुन नसक्दा उनीहरूका परिवारमा चिन्ता बढेको छ ।
सम्पर्कविहीन कामदार तथा कर्मचारीको अवस्था यकिन गर्न तत्काल खोजी तथा उद्धार अभियान तीव्र बनाउनुपर्ने माग गरिएको छ । प्रभावित क्षेत्रमा सडकमार्गबाट उद्धार कठिन रहेकाले हेलिकप्टर परिचालन गरी जोखिममा रहेका कामदारको शीघ्र उद्धार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
भोटेकोशीको बाढीले जलविद्युत् आयोजनामा पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि प्रारम्भिक तथ्यांकमै सयौँ कामदार तथा कर्मचारी सम्पर्कविहीन देखिएपछि विपद्को मानवीय असर गम्भीर बनेको छ ।



