‘प्लिज, जसरी भए पनि मेरो बुढासँग कुरा गराइदिनुस्’: अजयको प्रतीक्षामा पूजाको आँसु

जनकपुरधाम, १२ भदौ । धनुषाकी पूजा सुत्न सकेकी छैनन् । आँखा बन्द गर्दा श्रीमान् अजय सिंहकै अनुहार सम्झिन्छिन् । मोबाइल हेर्छिन्, फेरि फोन गर्छिन् । घण्टी जाँदैन । फोन उठ्दैन । एकपछि अर्को प्रयास असफल हुन्छ । अनि आँखाबाट आँसु झर्छ ।
‘मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के हुँदैछ ? केही जानकारी पाएको छैन,’ रुँदै पूजा भन्छिन्, ‘प्लिज, जसरी भए पनि उहाँको अवस्था बारे जानकारी पाउँ । प्लिज मलाई उहाँसँग कुराकानी गराइदिनुस् ।’
रसुवाको माथिल्लो त्रिशूली जलविद्युत–१ मा कार्यरत अजय सिंह बाढी आउनुअघिसम्म परिवारको सम्पर्कमा थिए । तर, त्यसपछि उनी एकाएक सम्पर्कविहीन बने । अजयको मोबाइल त्यसयता लगातार स्विच अफ छ ।
अजयको अवस्था के छ भन्ने परिवारलाई केही थाहा छैन । बाढीले रसुवामा ठूलो क्षति पुर्याएको खबरसँगै धनुषामा रहेको उनको परिवारको बेचैनी पनि दिनप्रतिदिन बढिरहेको छ ।
‘एकपटक आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो’, पूजा श्रीमान्को प्रतीक्षामा छिन् । अजय हराएको खबरले उनको घरमा अहिले कुनै उत्सव छैन, कुनै सामान्य दिन छैन । छ त केवल फोनको प्रतीक्षा, कुनै अपरिचित नम्बरबाट आउने खबरको प्रतीक्षा र उद्धार टोलीबाट आउने आशाको प्रतीक्षा ।

अजय मात्रै नभई रसुवाको बाढीपछि थुप्रै परिवार यस्तै अनिश्चित प्रतीक्षामा छन् । कसैको श्रीमान् सम्पर्कविहीन छन्, कसैका दाइ, भाइ वा छोरा । परिवारका सदस्यहरू अस्पतालदेखि प्रहरी चौकीसम्म धाइरहेका छन् । कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि, कतै फोटो देखिन्छ कि, कतै कसैले ‘उहाँ सुरक्षित हुनुहुन्छ’ भनेर खबर गरिदिन्छ कि भन्ने आशामा उनीहरू दिनरात भौँतारिरहेका छन् ।
अजयकी पत्नी पूजा पनि अहिले त्यही आशामा छिन् । उनको हातमा मोबाइल छ । आँखामा आँसु छ । मनमा एउटै प्रश्न छ—‘मेरो अजय कहाँ हुनुहुन्छ ?’
‘उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहोस्,’ उनी भन्छिन्, ‘मलाई उहाँसँग एकपटक कुरा गराइदिनुस् । उहाँको आवाज मात्रै सुन्न पाए पनि मेरो मन शान्त हुन्थ्यो ।’

बाढीले बाटो, पुल र बस्ती मात्र बगाएको छैन, सयौँ परिवारको शान्ति पनि बगाएको छ । कसैलाई आफ्ना मान्छेको मृत्युको खबर मिलिसकेको छ, तर धेरै परिवार अझै ‘सम्पर्कविहीन’ भन्ने दुई शब्दमै अड्किएका छन् ।
बाढीपछि हराएका अजयको खोजी जारी छ । तर, धनुषामा उनकी पत्नी पूजा भने हरेक क्षण श्रीमान् फर्किने बाटो हेरिरहेकी छन् । उनको प्रतीक्षा एउटै प्रश्नमा अडिएको छ—अजय कहाँ छन् ? र, उनको रोदनले एउटा मात्रै आग्रह गरिरहेको छ—‘प्लिज… जसरी भए पनि मेरो बुढासँग कुरा गराइदिनुस् ।’


