जनकपुरधाम, १२ भदौ । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा हालसम्म ५५३ वटा शव फेला परेका छन् ।

नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

नेपाल प्रहरीका अनुसार विपद्पछि सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत कार्यमा हालसम्म ४ हजार ४८९ जना प्रहरी परिचालन भएका छन् ।

बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनमध्ये एक जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको विवरणमा उल्लेख छ ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, धादिङमा ४०, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ वटा रहेका छन् ।

त्यस्तै, बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका गरी हालसम्म १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको प्रहरीले जनाएको छ । जसमध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९७ जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

बाढीपछि हराइरहेका तथा प्रभावित नागरिकको खोजी र उद्धारका लागि सुरक्षाकर्मीले प्रभावित जिल्लाहरूमा अभियानलाई निरन्तरता दिइरहेका छन् ।