टिमुरे, स्याफ्रुबेँसी र मैलुङबाट ७०६ जना विदेशीको उद्धार
जनकपुरधाम, १२ भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा फसेका ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकप्टर परिचालन गरी उनीहरूको उद्धार गरेको हो ।
आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट उद्धार गरिएकोमा ४० जना विदेशी (२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन) सहित ७०६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढीका कारण सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकलाई प्राथमिकताका आधारमा हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा खोजी, उद्धार तथा राहत वितरणका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । प्रभावित क्षेत्रमा ४ हजार ५ सयभन्दा बढी सैनिक उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
सेनाले जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारसँगै प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउने र विपद् व्यवस्थापनका अन्य कामलाई समेत निरन्तरता दिइरहेको जनाएको छ ।


