जनकपुरधाम, १२ भदौ । रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले खोजी तथा उद्धारसँगै शव संकलन, पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामलाई निरन्तरता दिएको छ ।

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा नेपाल प्रहरीसहित सुरक्षा निकायका टोलीहरू उद्धार तथा खोजी कार्यमा परिचालित छन् ।

प्रहरीले जोखिमपूर्ण स्थानमा पुगेर बेपत्ता तथा प्रभावित नागरिकको खोजी गर्नुका साथै फेला परेका शव संकलन गरी सम्बन्धित निकायसँगको समन्वयमा पहिचान र मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा भौतिक संरचनाका कारण प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापन कार्य चुनौतीपूर्ण बने पनि प्रहरी टोलीले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै निरन्तर काम गरिरहेको छ ।

प्रहरीका अनुसार उद्धार तथा खोजी अभियानसँगै घटनास्थलको सुरक्षा, शव व्यवस्थापन, आफन्तसँग समन्वय, क्षतिको विवरण संकलन तथा अन्य आवश्यक विपद् व्यवस्थापनका कार्यसमेत भइरहेको छ ।

विपद्को समयमा नागरिकको जीवनरक्षा र प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउन नेपाल प्रहरीका विभिन्न युनिटबाट थप जनशक्ति परिचालन गरिएको छ ।

सुरक्षा निकाय, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायबीचको समन्वयमा खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरुः नेपाल प्रहरी