काठमाडौँ, १२ भदौ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।

नेपाल प्रहरीले शुक्रबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै एक जना सम्पर्कविहीन प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ४ हजार ४७३ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रहरीले विभिन्न जिल्लाबाट हालसम्म ५४७ वटा शव फेला पारेको जनाएको छ ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा रहेका छन् ।

त्यस्तै, बाढी तथा पहिरोमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ । रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन् ।

सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।