जनकपुरधाम, १२ भदौ । सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा आवतजावत तत्काल सञ्चालनमा ल्याउन भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग मागेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै दुवै छिमेकी मुलुकलाई सहयोगका लागि औपचारिक अनुरोध गरिएको हो ।

विपद् प्रभावित क्षेत्रमा विदेशी मुलुकबाट प्राप्त हुने सहयोगलाई आवश्यकता र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मागका आधारमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विपद् प्राधिकरणले बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालन गर्न तत्काल ४२ वटा बेलिब्रिज आवश्यक पर्ने आकलन गरेपछि सरकारले भारत र चीनसँग सहयोग मागेको जनाइएको छ ।

भारतले समेत नेपाललाई आवश्यक परेको अवस्थामा बेलिब्रिजलगायतका सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यकताअनुसार सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश पुलमा क्षति पुगेपछि ती जिल्लाका विभिन्न स्थानमा आवतजावत प्रभावित भएको छ ।

कतिपय क्षेत्रमा पुल पूर्णरूपमा बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ भने स्थानीय बासिन्दा तथा उद्धार टोलीलाई समेत आवतजावतमा कठिनाइ भइरहेको छ ।

सरकारले अत्यावश्यक स्थानमा बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापित गर्ने तयारी गरेको छ ।

प्रभावित क्षेत्रमा राहत, उद्धार तथा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत सडक सम्पर्क तत्काल सुचारु गर्नुपर्ने अवस्था रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।