जनकपुरधाम, १२ भदौ । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढी तथा प्रतिकूल मौसमका कारण केन्द्रभित्र फसेका उनीहरूलाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो ।

मौसम प्रतिकूल भए पनि उद्धार टोलीले जोखिम मोलेर कर्मचारीलाई सुरक्षित स्थानमा ल्याएको जनाइएको छ ।

यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित उद्धारका लागि आवश्यक तयारीसमेत भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित विशेष हेलिकप्टर परिचालन गरिएको छ । टनेलभित्र फसेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उपकरण तथा उद्धार टोली आयोजनातर्फ पठाइएको जनाइएको छ ।

प्रतिकूल मौसम, बाढी तथा सडक तथा भौतिक संरचनामा भएको क्षतिका कारण उद्धारमा केही कठिनाइ देखिए पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको सम्बन्धित निकायले जनाएको छ ।