जनकपुरधाम, १२ भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिको विवरण थप गम्भीर बन्दै गएको छ ।

नेपाल प्रहरीले हालसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको पहिचान खुल्न सकेको छैन । बाढीले बगाएका तथा बेपत्ता भएकाहरूको खोजीका क्रममा विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

फेला परेका शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानमा भेटिएका छन् । बाढीले त्रिशूली नदीको बहाव क्षेत्रमा ठूलो क्षति पु¥याएपछि नदी किनार तथा तल्लो तटीय क्षेत्रमा समेत शव फेला परिरहेका छन् ।

पहिचान भएका तथा पहिचान हुन बाँकी शवहरू सम्बन्धित जिल्लाका साथै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ ।

ठूलो संख्यामा शवको पहिचान गर्नुपर्ने भएकाले सम्बन्धित परिवारबाट विवरण संकलन, आवश्यक प्रक्रिया पूरा गर्ने तथा शव व्यवस्थापनको कामसमेत भइरहेको छ । बाढीका कारण अझै कति व्यक्ति बेपत्ता छन् भन्ने यकिन विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्राकृतिक विपत्तिपछि ठूलो मानवीय क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।