काठमाडौं, ११ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको भन्दै सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन केन्द्रित रहेको बताएका छन् ।

बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएका थिए ।

उनले विपद् प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिँदै उद्धार तथा राहत कार्य पूरा नभएसम्म सरकारी संयन्त्र निरन्तर मैदानमा रहने बताएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् ।

नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना उद्धार तथा राहतमा खटिएका छन् ।

हवाई तथा स्थलमार्गबाट उद्धारलाई तीव्रता दिइएको भन्दै प्रधानमन्त्री शाहले बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको बताए ।

थप हेलिकप्टर तयारी अवस्थामा राखिएको र निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको उनले जानकारी दिए ।

हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताए ।

राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका सामग्री बोकेका १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ भने थप राहत सामग्री हेलिकप्टरमार्फत समेत पुर्‍याउने काम भइरहेको छ ।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्थासमेत उद्धार तथा राहतमा परिचालित छन् । रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ ।

स्वास्थ्यतर्फ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार पारिएको छ ।

प्रधानमन्त्री शाहले बाढीपहिरोबाट प्रभावित तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गरिएको पनि बताएका छन् । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनीस्थित ब्यारेकलाई सामग्री संकलन तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको छ ।

दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । बाढीपहिरोका कारण नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएको जनाइएको छ । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ ।

प्रभावित नागरिकलाई तत्काल सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको छ । एनसेलले समेत निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको प्रधानमन्त्री शाहले बताए ।

सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारजस्ता अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय, विभाग र निकायलाई आवश्यक जनशक्ति, उपकरण तथा स्रोत परिचालन गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका विभिन्न आयल स्टोरमा डिजल र पेट्रोलको मौज्दात राखिएको तथा थप इन्धन पठाइएको जानकारी दिइएको छ ।

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

प्रधानमन्त्री शाहले विपद्पछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको पनि बताए । भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय रेडक्रस महासंघलगायतका साझेदारसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए ।

उनले सरकार प्रभावित नागरिकको साथमा रहेको बताउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन भएका छन् । उद्धार तथा राहत कार्य पूरा नभएसम्म सरकार मैदानमै रहनेछ,’ प्रधानमन्त्री शाहले भने ।