काठमाडौं, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ ।

नेपाल प्रहरीले बिहीबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ ।

बाढीपछि हालसम्म विभिन्न जिल्लामा गरी ३५८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जना रहेका छन् ।

यसैगरी, बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा घाइते भएका ६३ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् ।

तीमध्ये ३१ जना त्रिवि शिक्षण अस्पताल, २२ जना ट्रमा सेन्टर, २ जना नर्भिक अस्पताल, २ जना वीर अस्पताल, २ जना मनमोहन अस्पताल र ग्रान्डी, मनमैजु शुभम्, ग्रिन सिटी तथा वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्पर्कविहीन कर्मचारी तथा बाढीमा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि ४ हजार ३८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।