चितवन, ११ भदौ । रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाढीमा ज्यान गुमाएर बग्दै नारायणी नदीसम्म पुगेको शवबाट कानको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो ।

भाइरल भिडियोका आधारमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

उनीहरूले बाढीमा बगेर आएको शवबाट कानको मुन्द्रा निकालिरहेको दृश्य भिडियोमा देखिएको थियो । भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले भिडियोको आधारमा पहिचान तथा खोजी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।