रसुवा बाढी अपडेट: २७० शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ, ११ भदौ । रसुवा जिल्लामा आएको बाढीपछि विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।
बिहीबार दिउँसो १ः३० बजेसम्मको विवरणअनुसार केही प्रहरी कर्मचारी भने सम्पर्कमा आएका छन् ।
इलाका प्रहरी कार्यालय ठिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् ।
प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये एक जना, स्याफ्रुबेंसीका ८ जनामध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् ।
त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना प्रहरी कर्मचारी सम्पर्कमा आएका छन् । बाँकी २८ जना प्रहरी कर्मचारीको अवस्था अझै यकिन हुन सकेको छैन ।
बाढी तथा विपद्पछिको उद्धार र खोजी कार्यमा देशभरबाट ४ हजार ५० जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।
प्राप्त विवरणअनुसार बाढी तथा अन्य विपद्का घटनामा हालसम्म २७० जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव रहेको उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न अस्पतालमा ६६ जना घाइते उपचाररत वा उपचारपछि डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १, नर्भिक अस्पतालमा २ र मनमोहन अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ। थप १४ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार र राहत वितरणलाई तीव्र बनाइएको छ ।
प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।


