काठमाडौँ, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार बिहानसम्म बाढी प्रभावित विभिन्न क्षेत्रमा १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी रहेका छन् । तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

त्यस्तै, बाढीपछि ५७९ जना पर्यटकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीन पर्यटकमध्ये ११३ जना नेपाली र ४६६ जना विदेशी नागरिक रहेका छन् ।

विपद्मा परेका १०४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

फेला परेका शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा नौ र चितवनको नारायणी नदी आसपासमा ६४ वटा रहेका छन् । नवलपरासी पश्चिममा थप पाँच जनाको शव फेला परेको छ ।

बाढीको तीव्रताका कारण कतिपय शव क्षतविक्षत अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ ।

सरकारले विपद्सम्बन्धी संवेदनशील सूचनामा आधिकारिक निकायबाट जारी विवरणलाई मात्र आधार बनाउन र अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।