काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेनामार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार नेपाली सेनाका आठ वटा ट्रकमार्फत राहत सामग्री बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री प्राथमिकताका आधारमा पठाइएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा पठाइएको राहत सामग्रीमा ५०० थान मच्छरदानी, बालबालिकाका लागि एक हजार थान डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल र ५०० थान सोलार बत्ती रहेका छन् ।

त्यस्तै, सोलार बत्तीका लागि ५०० थान सोलार प्लेट र विद्युत् आपूर्ति आवश्यक पर्ने स्थानमा प्रयोग गर्न ३० केभीए क्षमताको एक थान जेनेरेटरसमेत प्रभावित क्षेत्रमा पठाइएको दहालले जानकारी दिएकी छन् ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै पूर्वाधारमा समेत क्षति पुगेको छ । जोखिममा रहेका नागरिकको उद्धार तथा प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ ।

सरकारले सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई परिचालन गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ ।