बाढी प्रभावितको बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

जनकपुरधाम, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रबाट घाइते तथा जोखिममा रहेका नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको हो ।
उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ ।
गम्भीर घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचार गरिने तयारी गरिएको छ ।
घाइतेको स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरी उद्धार र उपचारलाई प्राथमिकताका साथ अघि बढाइने प्राधिकरणले जनाएको छ ।
यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री पनि स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।
राहत सामग्री संकलन तथा ढुवानीलाई तीव्र बनाउँदै प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने तयारी भइरहेको छ ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, राहत तथा उपचारलाई तीव्र बनाइएको हो ।

