काठमाडौँ, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले बुधबार विशेष सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशुली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान प्राधिकरणले अनुरोध गरेको छ ।

त्यस्तै, खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भए १००, १२३४ वा १११४ मा सम्पर्क गर्न भनिएको छ ।

प्राधिकरणले बाढीका कारण सडक यातायातसमेत प्रभावित हुन सक्ने भन्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई समेत अनुरोध गरिएको छ ।

सम्भावित विपद्पछि खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न पनि प्राधिकरणले अपिल गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा नदीको बहाव र बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन तथा अनावश्यक रूपमा नदी किनार र जोखिमयुक्त सडक क्षेत्रमा नजान नागरिकलाई आग्रह गरिएको छ ।