काठमाडौँ, १० भदौ । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनमा रोक लगाइएको छ ।

बाढीका कारण त्रिशूली नदी आसपासका सडक तथा बस्तीमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोक लगाएको हो ।

प्रहरीका अनुसार ती जिल्लातर्फ जाने सार्वजनिक यातायातका साथै निजी चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत नाकामै रोकेर राखिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बाढीको अवस्था जोखिमपूर्ण रहेकाले धादिङ, रसुवा र चितवनतर्फ तत्काल यात्रा नगर्न आग्रह गरिएको बताए ।

बाढीको बहाव, सडकको अवस्था तथा जोखिमको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सवारी आवागमन खुलाउनेबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले यातायात व्यवसायीलाई समेत जोखिमयुक्त क्षेत्रमा सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

नदीको बहाव बढिरहेको अवस्थामा यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।