तिब्बतबाट आएको बाढीले रसुवा–नुवाकोटमा तहसनहस, टिमुरेदेखि त्रिशूलीसम्म ठूलो क्षति
काठमाडौं, १० भदौ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले रसुवाको सीमावर्ती क्षेत्रदेखि नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, बजार, प्रहरी कार्यालय, भन्सार, जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो क्षति भएको छ । टिमुरे बजार नै बाढीले तहसनहस बनाएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बाढीका कारण धेरै मानिस सम्पर्कविहीन रहेको र कतिपय स्थानीय सुरक्षित स्थानमा उद्धारको पर्खाइमा रहेको बताइएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार स्याफ्रुबेसी बजारदेखि टिमुरेसम्मको क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । सञ्चार सम्पर्क विच्छेद भएकाले त्यस क्षेत्रमा रहेका नागरिकको अवस्थासमेत तत्काल थाहा हुन नसकेको उनले बताए ।
उनका अनुसार धुन्चेबाट तल स्याफ्रुबेसी हुँदै टिमुरेसम्म कसैसँग सम्पर्क हुन सकेको छैन । बाढीका कारण टेलिफोन टावरमा क्षति पुगेको हो वा अन्य कारणले सम्पर्क विच्छेद भएको हो भन्ने यकिन हुन नसकेको उनले बताए ।
‘हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौं । तल के कति क्षति गरेको हो, केही पनि थाहा हुन सकेको छैन । स्याफ्रुबेसी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हामी जान पनि सकेका छैनौं । नेपाली सेनाको हेलिकप्टर त्यतातिर गएको छ । त्यहाँबाट फर्केर आएपछि केही जानकारी होला ।’
बाढी स्याफ्रुबेसी बजारसम्मै पुगेको हुनसक्ने खबर आए पनि वास्तविक अवस्था बुझ्न नसकिएको उनले बताए । उद्धार टोली घटनास्थलमा पुगेपछि मात्रै क्षतिको विस्तृत विवरण प्राप्त हुने उनको भनाइ छ ।
टिमुरे बजारमा केही बाँकी नरहेको स्थानीयको भनाइ
गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाजसहित आएको बाढीले टिमुरे बजारलाई केही क्षणमै तहसनहस बनाएको छ ।
उनका अनुसार टिमुरेमा सयभन्दा बढी घर तथा विभिन्न संरचना रहेका थिए । बाढीको वेग र त्यसले पुर्याएको क्षतिको अवस्था हेर्दा धेरै संरचना बगेको हुनसक्ने अनुमान गरिएको छ । कति घर बगे र कति मानिस बेपत्ता छन् भन्ने यकिन हुन सकेको छैन ।
‘बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउँदै तहसनहस भयो,’ घलेले भने, ‘टिमुरे बजार केही पनि बाँकी छैन । बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन ।’
बाढीबाट जोगिएका स्थानीयहरू डाँडातर्फ गएर बसेका छन् । उनीहरूका अनुसार तत्काल खानेकुरा, पानी तथा अन्य आवश्यक सामग्रीको समेत अभाव छ ।
‘हामी जोडिएकाहरू माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं,’ घलेले भने, ‘साना केटाकेटीलाई के खुवाउने, कसरी जोगाउने भन्ने अवस्था छ । केही छैन । बगेको पानी खाएर बसेका छौं।’
उनले उद्धारका लागि सरकारी निकायलाई तत्काल परिचालन गर्न आग्रह गरेका छन् । बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर पुगे पनि उद्धार आवश्यक भएका स्थानीयसम्म तत्काल पुग्न नसकेको उनले बताए ।
रसुवागढी भन्सारमा पूर्ण क्षति
अचानक आएको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा समेत ठूलो क्षति पुगेको छ । अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार परिसर र यार्डमा रहेका संरचना तथा सवारीसाधनमा बाढीले व्यापक क्षति पुर्याएको छ ।
भन्सार यार्डमा रहेका सबैजसो सवारीसाधन बगेको प्रारम्भिक विवरण आएको छ । भन्सारमा कार्यरत कर्मचारीहरू ज्यान जोगाउन आफ्नो मोबाइल तथा अन्य सामान छाडेर सुरक्षित स्थानतर्फ भागेका कारण उनीहरूको अवस्थाबारे पनि विवरण संकलन गर्न समय लागेको बताइएको छ ।
रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी रहेकोमा दुई जना कर्मचारी बिदामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । बाँकी कर्मचारीको अवस्थाबारे सम्पर्क तथा विवरण संकलन भइरहेको छ ।
तीन प्रहरी कार्यालयमा क्षति, सुरक्षाकर्मी पनि सम्पर्कविहीन
बाढीले रसुवा जिल्लाका नेपाल प्रहरीका कम्तीमा तीन वटा कार्यालयमा ठूलो क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा बाढीले क्षति पुर्याएको हो ।
ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन ।
यसैगरी बोर्डर आउट पोस्टमा खटिएका नौ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन सुरक्षाकर्मीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि सञ्चार सम्पर्क विच्छेद र सडक तथा पूर्वाधारमा पुगेको क्षतिका कारण तत्काल घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ ।
नुवाकोटमा पनि बाढीको ठूलो प्रभाव
रसुवाबाट आएको बाढी नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा पुगेपछि नुवाकोटका विभिन्न स्थानमा समेत ठूलो क्षति भएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजार क्षेत्रमा भएको प्रारम्भिक जानकारी आएको छ । त्रिशूली बजारमा समेत बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीको चपेटामा परेको उनले बताए ।
मेयर श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर बाढी नुवाकोटमा आएको जानकारी भएको थियो । बाढीले क्षति पु¥याएका स्थानहरूको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।
‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं,’ श्रेष्ठले भने ।
बाढी नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेको बताइएको छ । नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूमा जोखिम बढेपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जलविद्युत् आयोजनामा ठूलो क्षति
बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा समेत ठूलो क्षति पुर्याएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ ।
यस्तै त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विद्युत् वितरणसँग सम्बन्धित विभिन्न संरचनामा समेत बाढीले असर गरेको प्राधिकरणले जनाएको छ ।
उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा क्षति पुगेपछि रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोली तथा सम्बन्धित निकाय परिचालन गरी सम्भव भएसम्म छिटो सेवा सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।
बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायत भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ । क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।
‘अचानक आयो बाढी, धेरै कुरा नोक्सान भयो’
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि बाढीबाट ठूलो क्षति भएको बताएका छन् ।
उनका अनुसार बाढी अत्यन्तै अप्रत्याशित रूपमा आएको थियो । स्थानीय क्षेत्रमा ठूलो वर्षा नभए पनि तिब्बततर्फबाट आएको पानीका कारण भोटेकोशीमा अचानक ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
‘अकस्मात् बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ परियारले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ।’
नेपाली भूभागमा ठूलो वर्षा नभएको उल्लेख गर्दै उनले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने बताए ।
‘हाम्रो साइडमा ठूलो खालको ग्लेसियर थिएन । पारिबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि ठूलो पानी परेको थिएन । हिजो राति धुन्चेतिर अलिअलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’
उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताए ।
उद्धारका लागि सेना र सुरक्षा निकाय परिचालन
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ ।
नेपाली सेनाले काठमाडौंस्थित आधार क्षेत्रबाट एआई–१७ हेलिकप्टरमा इमर्जेन्सी मेडिकल रेस्क्यु टिम पठाएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टिमसहितको हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको छ ।
धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको छ । यसअघि नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण तथा उद्धारका लागि परिचालन भइसकेका थिए ।
तर प्रभावित क्षेत्रमा सडक तथा सञ्चार संरचना क्षतिग्रस्त भएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । विशेषगरी टिमुरे, स्याफ्रुबेसी तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको खबर आए पनि स्थलगत रूपमा पुगेर अवस्था बुझ्न कठिन भइरहेको छ ।
सरकारले चारवटा काम अघि बढाएको दाबी
तिब्बततर्फबाट आएको बाढीपछि सरकारले उद्धार, राहत र सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल चारवटा कदम अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ । विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ ।
त्यसैगरी तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सरकारले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
निजी हेलिकप्टरलाई उद्धारमा सहजता
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन निजी क्षेत्रका हेलिकप्टर परिचालनका लागि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आपत्कालीन उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन निजी हेलिकप्टरलाई समेत आवश्यकताअनुसार उडानको सहजीकरण गर्ने व्यवस्था गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा ल्याउन हवाई उद्धार प्रभावकारी हुने भएकाले आवश्यकताअनुसार सबै उपलब्ध स्रोतसाधन परिचालन गर्ने सरकारको तयारी छ ।
क्षतिको पूर्ण विवरण अझै आउन बाँकी
अचानक आएको बाढीका कारण रसुवा र नुवाकोटमा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता छन् र कति जना प्रभावित भएका छन् भन्ने यकिन विवरण अझै सार्वजनिक भएको छैन ।
विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएका कारण मानवीय क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरूले ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको बताएका छन् ।
सरकारी सुरक्षा निकाय तथा उद्धार टोलीले हवाई निरीक्षण तथा स्थलगत उद्धार सुरु गरेपछि मात्रै मानवीय र भौतिक क्षतिको यकिन विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।
बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा समेत ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न थप समय लाग्न सक्ने देखिएको छ । सडक, पुल र बजार क्षेत्रमा भएको क्षतिका कारण उद्धार तथा राहत सामग्री पुर्याउनसमेत चुनौती देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ । नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा रहेका सर्वसाधारण तथा आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेको छ ।
भोटेकोशीमा आएको बाढी अहिले पनि तल्लो तटीय क्षेत्रमा जोखिमपूर्ण हुनसक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अहिले सुरक्षा निकाय, स्थानीय प्रशासन, नेपाली सेना र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरू प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनमा जुटेका छन् । बाढीले पुर्याएको वास्तविक मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि मात्र स्पष्ट हुने देखिएको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





