काठमाडौं, १० भदौ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले रसुवाको सीमावर्ती क्षेत्रदेखि नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, बजार, प्रहरी कार्यालय, भन्सार, जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधारमा व्यापक क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो क्षति भएको छ । टिमुरे बजार नै बाढीले तहसनहस बनाएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बाढीका कारण धेरै मानिस सम्पर्कविहीन रहेको र कतिपय स्थानीय सुरक्षित स्थानमा उद्धारको पर्खाइमा रहेको बताइएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार स्याफ्रुबेसी बजारदेखि टिमुरेसम्मको क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । सञ्चार सम्पर्क विच्छेद भएकाले त्यस क्षेत्रमा रहेका नागरिकको अवस्थासमेत तत्काल थाहा हुन नसकेको उनले बताए ।

उनका अनुसार धुन्चेबाट तल स्याफ्रुबेसी हुँदै टिमुरेसम्म कसैसँग सम्पर्क हुन सकेको छैन । बाढीका कारण टेलिफोन टावरमा क्षति पुगेको हो वा अन्य कारणले सम्पर्क विच्छेद भएको हो भन्ने यकिन हुन नसकेको उनले बताए ।

‘हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौं । तल के कति क्षति गरेको हो, केही पनि थाहा हुन सकेको छैन । स्याफ्रुबेसी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हामी जान पनि सकेका छैनौं । नेपाली सेनाको हेलिकप्टर त्यतातिर गएको छ । त्यहाँबाट फर्केर आएपछि केही जानकारी होला ।’

बाढी स्याफ्रुबेसी बजारसम्मै पुगेको हुनसक्ने खबर आए पनि वास्तविक अवस्था बुझ्न नसकिएको उनले बताए । उद्धार टोली घटनास्थलमा पुगेपछि मात्रै क्षतिको विस्तृत विवरण प्राप्त हुने उनको भनाइ छ ।

टिमुरे बजारमा केही बाँकी नरहेको स्थानीयको भनाइ
गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाजसहित आएको बाढीले टिमुरे बजारलाई केही क्षणमै तहसनहस बनाएको छ ।

उनका अनुसार टिमुरेमा सयभन्दा बढी घर तथा विभिन्न संरचना रहेका थिए । बाढीको वेग र त्यसले पुर्याएको क्षतिको अवस्था हेर्दा धेरै संरचना बगेको हुनसक्ने अनुमान गरिएको छ । कति घर बगे र कति मानिस बेपत्ता छन् भन्ने यकिन हुन सकेको छैन ।

‘बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउँदै तहसनहस भयो,’ घलेले भने, ‘टिमुरे बजार केही पनि बाँकी छैन । बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन ।’

बाढीबाट जोगिएका स्थानीयहरू डाँडातर्फ गएर बसेका छन् । उनीहरूका अनुसार तत्काल खानेकुरा, पानी तथा अन्य आवश्यक सामग्रीको समेत अभाव छ ।

‘हामी जोडिएकाहरू माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं,’ घलेले भने, ‘साना केटाकेटीलाई के खुवाउने, कसरी जोगाउने भन्ने अवस्था छ । केही छैन । बगेको पानी खाएर बसेका छौं।’

उनले उद्धारका लागि सरकारी निकायलाई तत्काल परिचालन गर्न आग्रह गरेका छन् । बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर पुगे पनि उद्धार आवश्यक भएका स्थानीयसम्म तत्काल पुग्न नसकेको उनले बताए ।

रसुवागढी भन्सारमा पूर्ण क्षति
अचानक आएको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा समेत ठूलो क्षति पुगेको छ । अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार परिसर र यार्डमा रहेका संरचना तथा सवारीसाधनमा बाढीले व्यापक क्षति पुर्याएको छ ।

भन्सार यार्डमा रहेका सबैजसो सवारीसाधन बगेको प्रारम्भिक विवरण आएको छ । भन्सारमा कार्यरत कर्मचारीहरू ज्यान जोगाउन आफ्नो मोबाइल तथा अन्य सामान छाडेर सुरक्षित स्थानतर्फ भागेका कारण उनीहरूको अवस्थाबारे पनि विवरण संकलन गर्न समय लागेको बताइएको छ ।

रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी रहेकोमा दुई जना कर्मचारी बिदामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । बाँकी कर्मचारीको अवस्थाबारे सम्पर्क तथा विवरण संकलन भइरहेको छ ।

तीन प्रहरी कार्यालयमा क्षति, सुरक्षाकर्मी पनि सम्पर्कविहीन
बाढीले रसुवा जिल्लाका नेपाल प्रहरीका कम्तीमा तीन वटा कार्यालयमा ठूलो क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा बाढीले क्षति पुर्याएको हो ।

ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

यसैगरी बोर्डर आउट पोस्टमा खटिएका नौ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन सुरक्षाकर्मीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि सञ्चार सम्पर्क विच्छेद र सडक तथा पूर्वाधारमा पुगेको क्षतिका कारण तत्काल घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ ।

नुवाकोटमा पनि बाढीको ठूलो प्रभाव
रसुवाबाट आएको बाढी नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा पुगेपछि नुवाकोटका विभिन्न स्थानमा समेत ठूलो क्षति भएको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजार क्षेत्रमा भएको प्रारम्भिक जानकारी आएको छ । त्रिशूली बजारमा समेत बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीको चपेटामा परेको उनले बताए ।

मेयर श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर बाढी नुवाकोटमा आएको जानकारी भएको थियो । बाढीले क्षति पु¥याएका स्थानहरूको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

‘बाढीले क्षति पुर्याएको स्थानहरू यकिन गर्ने क्रममा छौं,’ श्रेष्ठले भने ।

बाढी नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेको बताइएको छ । नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूमा जोखिम बढेपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलविद्युत् आयोजनामा ठूलो क्षति
बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा समेत ठूलो क्षति पुर्याएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ ।

यस्तै त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विद्युत् वितरणसँग सम्बन्धित विभिन्न संरचनामा समेत बाढीले असर गरेको प्राधिकरणले जनाएको छ ।

उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा क्षति पुगेपछि रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोली तथा सम्बन्धित निकाय परिचालन गरी सम्भव भएसम्म छिटो सेवा सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।

बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायत भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ । क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

‘अचानक आयो बाढी, धेरै कुरा नोक्सान भयो’
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि बाढीबाट ठूलो क्षति भएको बताएका छन् ।

उनका अनुसार बाढी अत्यन्तै अप्रत्याशित रूपमा आएको थियो । स्थानीय क्षेत्रमा ठूलो वर्षा नभए पनि तिब्बततर्फबाट आएको पानीका कारण भोटेकोशीमा अचानक ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।

‘अकस्मात् बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ परियारले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ।’

नेपाली भूभागमा ठूलो वर्षा नभएको उल्लेख गर्दै उनले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने बताए ।

‘हाम्रो साइडमा ठूलो खालको ग्लेसियर थिएन । पारिबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि ठूलो पानी परेको थिएन । हिजो राति धुन्चेतिर अलिअलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’

उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताए ।

उद्धारका लागि सेना र सुरक्षा निकाय परिचालन
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाले काठमाडौंस्थित आधार क्षेत्रबाट एआई–१७ हेलिकप्टरमा इमर्जेन्सी मेडिकल रेस्क्यु टिम पठाएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टिमसहितको हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको छ ।

धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको छ । यसअघि नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण तथा उद्धारका लागि परिचालन भइसकेका थिए ।

तर प्रभावित क्षेत्रमा सडक तथा सञ्चार संरचना क्षतिग्रस्त भएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । विशेषगरी टिमुरे, स्याफ्रुबेसी तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको खबर आए पनि स्थलगत रूपमा पुगेर अवस्था बुझ्न कठिन भइरहेको छ ।

सरकारले चारवटा काम अघि बढाएको दाबी
तिब्बततर्फबाट आएको बाढीपछि सरकारले उद्धार, राहत र सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल चारवटा कदम अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ । विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ ।

त्यसैगरी तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सरकारले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

निजी हेलिकप्टरलाई उद्धारमा सहजता
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन निजी क्षेत्रका हेलिकप्टर परिचालनका लागि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आपत्कालीन उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन निजी हेलिकप्टरलाई समेत आवश्यकताअनुसार उडानको सहजीकरण गर्ने व्यवस्था गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा ल्याउन हवाई उद्धार प्रभावकारी हुने भएकाले आवश्यकताअनुसार सबै उपलब्ध स्रोतसाधन परिचालन गर्ने सरकारको तयारी छ ।

क्षतिको पूर्ण विवरण अझै आउन बाँकी
अचानक आएको बाढीका कारण रसुवा र नुवाकोटमा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता छन् र कति जना प्रभावित भएका छन् भन्ने यकिन विवरण अझै सार्वजनिक भएको छैन ।

विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएका कारण मानवीय क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरूले ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको बताएका छन् ।

सरकारी सुरक्षा निकाय तथा उद्धार टोलीले हवाई निरीक्षण तथा स्थलगत उद्धार सुरु गरेपछि मात्रै मानवीय र भौतिक क्षतिको यकिन विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा समेत ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न थप समय लाग्न सक्ने देखिएको छ । सडक, पुल र बजार क्षेत्रमा भएको क्षतिका कारण उद्धार तथा राहत सामग्री पुर्याउनसमेत चुनौती देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ । नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा रहेका सर्वसाधारण तथा आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेको छ ।

भोटेकोशीमा आएको बाढी अहिले पनि तल्लो तटीय क्षेत्रमा जोखिमपूर्ण हुनसक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले सुरक्षा निकाय, स्थानीय प्रशासन, नेपाली सेना र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरू प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनमा जुटेका छन् । बाढीले पुर्याएको वास्तविक मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि मात्र स्पष्ट हुने देखिएको छ ।