काठमाडौं, १० भदौ । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढी धादिङको गजुरीसम्म पुगेको छ ।

अचानक आएको बाढीले रसुवामा क्षति पुर्‍याउँदै त्रिशूली नदीको बहाव बढाएको हो ।

बाढी गजुरीसम्म पुगेपछि नदी आसपासका क्षेत्रमा जोखिम बढेको प्रहरीले जनाएको छ ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारी भइरहेको छ ।

बाढीका कारण गजुरी क्षेत्रमा सडक यातायातसमेत प्रभावित भएको छ । मुग्लिन प्रहरीले बाढीको अवस्था गम्भीर रहेकाले नदी आसपासका बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

रसुवामा बाढीले यसअघि नै विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पुग्न थालेपछि नुवाकोट, धादिङ, चितवनलगायत नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

प्रहरी तथा स्थानीय प्रशासनले नदीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक परे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन् ।