डा. विमल साहित्यका अग्रणी सर्जक

जनकपुरधाम, ०७ भदौ । नेपाली, मैथिली र हिन्दी साहित्यका विशिष्ट स्रष्टा डा. राजेन्द्र प्रसाद ‘विमल’को योगदानको स्मरण गर्दै काठमाडौंमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल चित्रगुप्त समाजको आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रममा साहित्य, राजनीति तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले डा. ‘विमल’प्रति श्रद्धासुमन अर्पण गर्दै उनको साहित्यिक योगदानको चर्चा गरेका हुन् ।
समाजका अध्यक्ष सन्तोष कुमार लाभको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अशोक कर्णले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. रामदयाल राकेश, त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी अध्यक्ष प्रो. डा. श्वेता दीप्ति, प्राज्ञ रूपा झा, साहित्यकार रमेश तूफान, विश्लेषक सीके लाललगायतले डा. ‘विमल’को व्यक्तित्व र कृतित्वबारे धारणा राखेका थिए ।
त्यस्तै, सांसद खगेन्द्र कर्ण, राष्ट्रियसभाका पूर्व सदस्य तथा वरिष्ठ साहित्यकार वृषेशचन्द्र लाल, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व मधेश प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ तथा मधेश आयोगका पूर्व अध्यक्ष विजय दत्तले पनि डा. ‘विमल’को योगदानको स्मरण गरेका थिए ।
हवाई विभागका पूर्व महानिर्देशक रतीश सुमन र भास्कर दासले समेत उनको साहित्यिक तथा सामाजिक योगदानबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा शतजीवी डा. गौरीशंकरलालले पठाएको शोक सन्देश उहाँका छोरा आनन्द मोहन लालले वाचन गरेका थिए ।
गायिका रश्मि दासले डा. ‘विमल’को सम्मानमा भावपूर्ण गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रस्तुत गरिएको स्मृति–पत्रमा डा. राजेन्द्र प्रसाद ‘विमल’लाई साहित्य क्षेत्रका ‘विरल प्रतिभा’ तथा ‘अग्रणी सर्जक’का रूपमा चित्रण गरिएको थियो ।
धारिलो लेखनीमार्फत उनले समाजमा विद्यमान लोकपीडा, विद्रोह र परिवर्तनको आकांक्षालाई अभिव्यक्ति दिँदै साहित्यलाई जनताको आवाजका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको स्मृति–पत्रमा उल्लेख गरिएको छ ।
डा. ‘विमल’ले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य तथा अनुवादलगायतका विविध विधामा कलम चलाएका थिए ।
उनको बहुआयामिक साहित्यिक योगदानले नेपाली, मैथिली र हिन्दी साहित्यलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो ।
साहित्य क्षेत्रमा पुर्याएको योगदानका लागि डा. ‘विमल’ जगदम्बाश्री, मधुपर्क, विद्यापति पुरस्कारलगायत करिब २२ वटा पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए ।
कार्यक्रममा वक्ताहरूले उनको निधनले नेपाली, मैथिली तथा हिन्दी साहित्यमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनका कृति र साहित्यिक योगदान आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्ने बताए ।





