काठमाडौँ, ०२ भदौ । संघीय सरकार मातहतका कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।

सरकारले कर्मचारीको तलब भुक्तानीलाई अर्धमासिक बनाउँदै भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै संघीय सरकारअन्तर्गतका सबै कार्यालयलाई प्रत्येक १५ दिनको अवधि पूरा भएपछि सो अवधिको तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले महिनाको अन्त्यसम्म तलबका लागि कुर्नुपर्ने छैन ।

प्रत्येक १५ दिन पूरा भएपछि सम्बन्धित अवधिको तलब तथा भत्ता भुक्तानी हुनेछ ।

कर्मचारीलाई उपलब्ध गराइने प्रोत्साहन भत्ता समेत यही प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अर्धमासिक तलब भुक्तानीका लागि आवश्यक प्राविधिक तथा प्रणालीगत व्यवस्था कार्यालयको प्रणालीमा मिलाइसकिएको छ ।

यसअघि संघीय सरकारका कर्मचारीले सामान्यतया महिनाको अन्त्यमा तलब पाउँदै आएका थिए ।

नयाँ व्यवस्थाले कर्मचारीको नियमित नगद प्रवाह सहज हुने र आर्थिक व्यवस्थापनमा समेत सहयोग पुग्ने सरकारको विश्वास छ ।

अर्थ मन्त्रालयले कर्मचारीको आर्थिक सहजतालाई ध्यानमा राख्दै गत वैशाखदेखि नै १५/१५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था अघि बढाएको थियो ।

अहिले महालेखा नियन्त्रक कार्यालयले मातहतका निकायलाई औपचारिक रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सरकारले नयाँ प्रणालीमार्फत कर्मचारीलाई समयमै पारिश्रमिक उपलब्ध गराउनुका साथै सरकारी वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।