कांग्रेस इतर समूहको भेलामा ‘सनातन हिन्दु राष्ट्र’ प्रस्तावलाई लिएर विवाद
काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलामा ‘सनातन हिन्दु राष्ट्र’ सम्बन्धी विषय समेटिएको प्रस्तावलाई लिएर नेताहरूबीच विवाद भएको छ ।
भेलाको समापनका क्रममा घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेका बेला उक्त विषयलाई लिएर नेताहरूबीच भनाभनदेखि कागज खोसाखोससम्मको अवस्था सिर्जना भएको हो ।
समापन कार्यक्रममा सनातन हिन्दु राष्ट्र अभियान सञ्चालन गर्दै आएका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मका विषयमा धारणा राख्न आग्रह गरेका थिए ।
देउवाले सम्बोधन गरेपछि प्रस्तावमा ‘सनातन हिन्दु राष्ट्र’सम्बन्धी विषय समेट्ने विषयमा सहमति बनेको नेताहरूले बताएका छन् ।
तर, प्रस्तावमा उक्त विषय समेटिएपछि नेता विमलेन्द्र निधिले हस्तक्षेप गरेका थिए ।
नेपालमा संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै निधिले संविधानको भावनाविपरीत हुने कुनै विषय प्रस्तावमा समावेश गर्न नहुने धारणा राखेका थिए ।
निधिले प्रस्ताव सच्याउन खोजेपछि नेता डा. प्रकाशरण महतसँग उनको विवाद भएको थियो ।
निधिले आफूले केही कुरा राख्ने भन्दै महतलाई हट्न आग्रह गरेपछि महत असन्तुष्ट बनेका थिए ।
सो क्रममा भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
महतले प्रस्तुत गरेको पाँचबुँदे प्रस्तावमा भने सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रस्तावको तेस्रो बुँदामा नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति राष्ट्रिय पहिचानसमेत भएको उल्लेख छ ।
प्रस्तावमा नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने तथा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।
प्रस्ताव संविधानविपरीत नभएको भन्दै महतसँगै नेता शंकर भण्डारी, दीपक कुँइकेल र बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले निधिलाई आसनमा फर्काएका थिए ।
भेलापछि नेता भण्डारीले प्रस्ताव पारित हुनु ऐतिहासिक कदम भएको दाबी गरेका छन् ।
उनले नेपाली कांग्रेसले पहिलोपटक औपचारिक रूपमा सनातन हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव स्वीकार गरेको दाबी गर्दै यसलाई नेपालको मौलिक पहिचानसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन् ।
भण्डारीले कांग्रेसले सनातन हिन्दु राष्ट्रको प्रस्ताव स्वीकार गरेको भन्दै यसलाई ऐतिहासिक निर्णयका रूपमा स्वागत गरेका छन् ।
यद्यपि, प्रस्तावमा ‘सनातन हिन्दु राष्ट्र’ स्थापना गर्ने स्पष्ट संवैधानिक व्यवस्था गर्नेभन्दा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समेटिएको देखिन्छ ।

कांग्रेसभित्र धर्मनिरपेक्षता, सनातन धर्म र संविधान संशोधनका विषयमा लामो समयदेखि फरक फरक धारणा रहँदै आएका छन् ।
इतर समूहको भेलामा आएको पछिल्लो प्रस्तावले पनि पार्टीभित्र यो विषयमा रहेको मतभिन्नता पुनः सतहमा ल्याएको छ ।


