दुईदिने सार्वजनिक बिदा तत्काल नहट्ने

जनकपुरधाम, २८ साउन । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन वा खारेज नगर्ने स्पष्ट पारेको छ ।
सरकारले इन्धन खपत घटाउने, प्रशासनिक खर्चमा मितव्ययिता ल्याउनेदेखि आन्तरिक पर्यटन प्रवर्द्धनसम्मका क्षेत्रमा दुईदिने बिदा प्रभावकारी देखिएको दाबी गरेको हो ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले हाललाई सार्वजनिक बिदाको व्यवस्था परिवर्तन गर्ने कुनै तयारी नरहेको बताइन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय असफल भएको दाबी गर्दै यसले शिक्षा, व्यापार तथा सरकारी सेवामा नकारात्मक असर पारेको बताएका थिए ।
उनले उक्त व्यवस्था खारेज गरी पुनः सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने पुरानै प्रणालीमा फर्किन सरकारसँग आग्रह गरेका थिए ।
जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा देखिएको इन्धन आपूर्ति संकटका कारण इन्धन खपत घटाउने उद्देश्यसहित २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गरिएको स्मरण गराइन् । त्यससँगै सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउने उद्देश्य पनि रहेको उनको भनाइ थियो ।
उनका अनुसार दुईदिने बिदाले कर्मचारीको कार्य जीवन सन्तुलन कायम गर्न, ऊर्जा तथा प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सकारात्मक प्रभाव पारेको छ ।
विशेषगरी सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको आवागमन बढ्दा स्थानीय बजार तथा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको सरकारको दाबी छ ।
मन्त्री गौतमले बिहान ९ बजेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवाग्राहीलाई थप सहजता भएको र कर्मचारीको मनोबल तथा कार्यक्षमतामा समेत सुधार आएको बताइन् ।
यद्यपि, सांसदहरूले उठाएका शिक्षा तथा सरकारी सेवा प्रवाहसम्बन्धी चासोलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले स्पष्ट पारिन् ।
विद्यार्थीको शैक्षिक गतिविधिसँगै सामाजिक घुलमिल, खेलकुद र सिर्जनात्मक गतिविधिलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।
सांसद विश्वकर्माले पूरक प्रश्न गर्दै दुईदिने बिदाका कारण विद्यालयमा पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने, विद्यार्थीमा असुरक्षा बढ्न सक्ने तथा सरकारी सेवामा सुस्तता आउन सक्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री गौतमले शिक्षालाई विद्यालयको सीमाभित्र मात्र राखेर हेर्न नहुने धारणा राख्दै विद्यार्थीको समग्र विकासका लागि समाज, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापसँग जोडेर हेर्नुपर्ने बताइन् ।
सरकारले हालसम्म दुईदिने सार्वजनिक बिदा हटाउने वा परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य नगरेको उनको स्पष्टोक्ति छ । यद्यपि, सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावलाई भने सरकारले अध्ययनको विषय बनाउने उनले बताइन् ।

