पर्यटकीय गन्तव्य कि अनैतिक गतिविधिको थलो?

जनकपुरधाम, २४ साउन । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वले समृद्ध जनकपुरधाम मिथिला सभ्यताको प्रमुख केन्द्रका रूपमा चिनिन्छ । प्राचीनकालमा ‘५२ कुटी, ७२ कुण्ड’का नामले परिचित जनकपुरधाममा समयक्रमसँगै धेरै ऐतिहासिक तथा धार्मिक सम्पदाको अस्तित्व संकटमा परेको छ । कतिपय कुण्ड र कुटी लोप भइसकेका छन् भने केही संरक्षणको पर्खाइमा छन् ।
तर, पछिल्लो समय संरक्षण, सौन्दर्यीकरण र सामाजिक सञ्जालमार्फत चर्चा पाएर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेका केही स्थलसमेत उचित व्यवस्थापन र निगरानीको अभावमा चुनौतीमा पर्न थालेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा रहेको नोचा पोखरी त्यसको एउटा उदाहरण बनेको स्थानीयको भनाइ छ ।
केही वर्षअघिसम्म सुनसानजस्तै रहने नोचा पोखरी अहिले जनकपुरधामका युवापुस्ताका लागि परिचित गन्तव्य बनेको थियो । पोखरीको चारैतिरको हरियाली, शान्त वातावरण, खेतबारी र प्राकृतिक सौन्दर्यले आगन्तुकलाई आकर्षित गर्न थालेपछि यहाँ घुम्न आउनेको संख्या बढेको थियो । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा पोखरीका तस्बिर तथा भिडियो भाइरल हुन थालेपछि यसको चर्चा झनै चुलिएको स्थानीय बताउँछन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ का सञ्जय यादवका अनुसार एक समय नोचा पोखरीमा दैनिकजसो ठूलो संख्यामा मानिस पुग्ने गरेका थिए ।
‘एकताका नोचा पोखरी निकै चर्चित भएको थियो । फेसबुक, टिकटक र इन्स्टाग्राममा पनि यसको चर्चा हुन्थ्यो । जनकपुरधाम आएका युवायुवतीदेखि परिवारसम्म यहाँ घुम्न आउने गर्थे,’ उनले भने ।
तर, अहिले पोखरीको चर्चा यसको प्राकृतिक सौन्दर्यका कारण मात्रै हुन छाडेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार पोखरी परिसरमा लागुऔषध सेवन, मदिरा सेवन तथा युवायुवतीका गतिविधि बढ्दै गएपछि पारिवारिक रूपमा घुम्न आउने आगन्तुक असहज महसुस गर्न थालेका छन् ।
कच्ची बाटो हुँदै पुगिने शान्त गन्तव्य
जनकपुरधामको मुरली चोक, क्याम्पस चोक हुँदै विमानस्थलतर्फ जाने सडक पार गरेपछि सिक्स लेन सडकबाट केही पूर्वतर्फ लाग्दा नोचा पोखरी पुगिन्छ । मुख्य सडकबाट करिब पाँचदेखि सात सय मिटर कच्ची बाटो पार गरेपछि पोखरीमा पुग्न सकिन्छ ।
मुख्य शहरबाट धेरै टाढा नरहे पनि पोखरी आसपासको वातावरण भने जनकपुरधामको व्यस्त बजारभन्दा बिल्कुलै फरक छ । चारैतिर धानबाली लगाइएका खेत, खेतमा काम गरिरहेका किसान, छरिएका घर र हरियालीले पोखरी क्षेत्रलाई शान्त र प्राकृतिक बनाएको छ ।
पोखरीको मुख्य प्रवेशद्वार नजिकै रहेको नोचा रिसोर्टले पनि यस क्षेत्रको पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ ।

स्थानीय तहले पोखरीको सौन्दर्यीकरणमा लगानीसमेत गरेको छ । पोखरी वरिपरि पर्खाल निर्माण गरिएको छ भने डिललाई व्यवस्थित बनाइएको छ ।
आगन्तुकका लागि बस्ने पक्की संरचना निर्माण गरिएको छ । युवापुस्तालाई आकर्षित गर्ने उद्देश्यले पोखरीको एक छेउमा ‘सेल्फी स्पट’समेत बनाइएको छ ।
यसरी हेर्दा नोचा पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भएको देखिन्छ । तर, पूर्वाधार निर्माणपछि त्यसको नियमित व्यवस्थापन, सरसफाइ र सुरक्षा निगरानीमा भने पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ ।
‘पर्यटक आउने ठाउँमा अहिले गलत गतिविधि बढे’
पोखरीको बाहिरी क्षेत्रमा खेतमा काम गरिरहेकी स्थानीय रामकली महतोका अनुसार केही समयअघिसम्म यहाँ मानिसको बाक्लो आवतजावत हुन्थ्यो ।
‘पहिला यहाँ मानिसको भिड हुन्थ्यो । परिवारसहित पनि मानिसहरू आउँथे । अहिले भने युवाहरूको समूह धेरै देखिन्छ । कतिपयले पोखरीको कुना–काप्चामा बसेर गलत गतिविधि गर्ने गरेका छन्,’ उनले भनिन् ।
स्थानीयका अनुसार विशेषगरी दिउँसोदेखि साँझसम्म पोखरी क्षेत्रमा युवायुवतीको उपस्थिति बाक्लो हुने गरेको छ । मोटरसाइकलमा जोडी बाँधिएर आउनेहरू पोखरीका विभिन्न कुनामा बस्ने गरेको उनीहरूको भनाइ छ ।
पोखरी परिसरमा निर्माण गरिएका आगन्तुक बस्ने संरचनासमेत अहिले कतिपयका लागि लामो समय बस्ने ठाउँ बनेको स्थानीयको आरोप छ ।
पोखरीभित्र रहेको एक ठेलामा चिया तथा खाजा खाइरहेका पिपराका हुसेन अली पनि यहाँको पछिल्लो अवस्थाप्रति सन्तुष्ट छैनन् ।
‘घुम्नका लागि राम्रो ठाउँ हो । तर अहिले केही समूहले यहाँ चुरोट, गाँजा तथा अन्य लागुऔषध सेवन गर्ने गरेको देखिन्छ । यति चर्चित ठाउँमा प्रशासनले निगरानी बढाउनुपर्ने हो,’ अलीले भने ।
घाटमा भेटिन्छन् मदिराका बोतल
नोचा पोखरीको आकर्षण बढेसँगै यहाँ आउने आगन्तुकको संख्या पनि बढेको थियो । तर, आगन्तुकको संख्या बढेसँगै फोहोर व्यवस्थापन र सुरक्षा चुनौतीसमेत थपिएको स्थानीयको भनाइ छ ।
पोखरीका विभिन्न घाट तथा बस्ने स्थानमा मदिराका खाली बोतल र अन्य फोहोर भेटिन थालेका छन् । विशेषगरी साँझपख पोखरी क्षेत्र सुनसान हुँदै जाने भएकाले त्यही समयमा लागुऔषध तथा मदिरा सेवन गर्ने समूह सक्रिय हुने गरेको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार कतिपय किशोर उमेरका युवासमेत पोखरी क्षेत्रमा लागुऔषध सेवन गर्ने अवस्थामा भेटिने गरेका छन् । यस्तो गतिविधिले पोखरीको पर्यटकीय पहिचानमा नकारात्मक असर पार्नुका साथै बालबालिका तथा परिवारसहित आउने आगन्तुकलाई समेत असहज बनाएको छ ।
धनुषाको भ्रमरपुराबाट पोखरी घुम्न आएका सञ्जय मिश्र पनि पोखरीको प्राकृतिक सौन्दर्यबाट प्रभावित भए पनि त्यहाँ देखिने गतिविधिप्रति असन्तुष्ट देखिए ।
‘पोखरीभित्रको वातावरण निकै राम्रो रहेछ । ठूलो रूख र पानीका कारण गर्मीमा पनि चिसो महसुस हुन्छ । तर कतिपय मानिस कुना पारेर बसेको र असहज गतिविधि गरेको देखियो । यस्तो अवस्था रहिरहने हो भने परिवार लिएर आउन गाह्रो हुन्छ,’ मिश्रले भने ।
सुनसान क्षेत्र भएकाले चुनौती
नोचा पोखरीको भौगोलिक अवस्थाका कारण पनि यहाँ सुरक्षा चुनौती बढेको प्रहरीको प्रारम्भिक बुझाइ छ । मुख्य सडकबाट केही भित्र, चारैतिर खेत र खुला क्षेत्र तथा साँझपछि मानिसको आवतजावत कम हुने भएकाले गलत गतिविधि गर्नेहरूले यसको फाइदा उठाउन सक्ने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेले नोचा पोखरी क्षेत्रमा नियमित निगरानी बढाउने बताएका छन् ।
उनका अनुसार पोखरी क्षेत्र केही सुनसान भएकाले त्यहाँ लागुऔषध सेवनलगायतका गतिविधि हुने गरेको जानकारी प्रहरीलाई प्राप्त भएको छ ।

‘लागुऔषध नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय छ । नोचा पोखरी क्षेत्रमा पनि अब नियमित गस्ती बढाउँछौँ । त्यहाँ हुने गतिविधिमाथि निगरानी राखेर आवश्यक कानुनी कारबाही गर्छौँ,’ न्यौपानेले भने ।
पूर्वाधार बने, व्यवस्थापन खै?
स्थानीय तहले पोखरीको सौन्दर्यीकरणमा खर्च गरे पनि त्यसको दीर्घकालीन व्यवस्थापन र संरक्षणमा पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।
कुनै पर्यटकीय स्थललाई आकर्षक बनाउन पर्खाल, बस्ने ठाउँ, सेल्फी स्पटलगायतका भौतिक संरचना निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन । त्यससँगै नियमित सरसफाइ, सुरक्षा, सूचना प्रणाली, पार्किङ, शौचालय, फोहोर व्यवस्थापन र पर्यटकमैत्री वातावरण पनि आवश्यक हुन्छ ।
विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको स्थानमा सुरक्षा निगरानी प्रभावकारी हुन नसके त्यसको गलत प्रयोग हुने जोखिम बढ्छ । नोचा पोखरीमा अहिले देखिएको समस्या पनि यही व्यवस्थापकीय कमजोरीसँग जोडिएको स्थानीयको बुझाइ छ ।
संरक्षणसँगै सुरक्षा र व्यवस्थापन आवश्यक
जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य हो । जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, विभिन्न कुण्ड तथा पोखरीका कारण यहाँ वर्षेनी ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
यस्तो अवस्थामा सहर आसपास रहेका प्राकृतिक तथा पर्यटकीय स्थललाई व्यवस्थित रूपमा विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्न सक्छ ।
नोचा पोखरी त्यसैको एउटा सम्भावना बोकेको स्थल हो । तर संरक्षण र सौन्दर्यीकरण गरेर मात्र पुग्दैन । यसको नियमित निगरानी, सरसफाइ, सुरक्षा व्यवस्था र स्थानीय समुदायको सहभागितासमेत सुनिश्चित गर्न आवश्यक छ ।
स्थानीय तहले लगानी गरेर निर्माण गरेका संरचना प्रयोगविहीन हुने वा गलत गतिविधिको थलो बन्ने अवस्था आउन नदिन स्पष्ट व्यवस्थापन योजना आवश्यक देखिन्छ । प्रहरी प्रशासनले पनि संवेदनशील समयमा नियमित गस्ती बढाउनुपर्ने स्थानीयको माग छ ।
नोचा पोखरीलाई पुनः परिवारसहित घुम्न सकिने सुरक्षित गन्तव्य बनाउने हो भने पूर्वाधार निर्माणसँगै प्रभावकारी व्यवस्थापन र सुरक्षा निगरानी अनिवार्य छ ।अन्यथा सामाजिक सञ्जालबाट चर्चामा आएको यो गन्तव्य गलत गतिविधिका कारण बदनाम हुने जोखिम बढ्दै जानेछ ।

जनकपुरधामको ‘५२ कुटी, ७२ कुण्ड’को ऐतिहासिक पहिचान जोगाउन नसकिएको गुनासोबीच नयाँ पर्यटकीय स्थलका रूपमा विकास हुँदै गरेका पोखरी तथा सम्पदालाई समेत संरक्षण गर्न नसक्ने हो भने धार्मिक र सांस्कृतिक नगरीको पर्यटन सम्भावनामाथि नै प्रश्न उठ्न सक्छ । त्यसैले नोचा पोखरीको संरक्षण, सुरक्षा र व्यवस्थापनमा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

