पेट्रोल प्रतिलिटर ३ र डिजेल ५ रुपैयाँ महँगियो

जनकपुरधाम, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य साउन १८ गते सोमबार बिहान १२:०१ बजेदेखि लागू हुने भएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ५ रुपैयाँ बढाइएको छ ।
त्यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेल ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धन १९ रुपैयाँ ६ पैसा महँगो भएर आएको थियो ।
तर, उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले वास्तविक लागतभन्दा कम दरमा मात्रै मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।
नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गअन्तर्गत पर्ने जनकपुरधाम, विराटनगर, वीरगञ्ज, अमलेखगञ्ज, चारआली, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
दोस्रो वर्गका क्षेत्रमा पेट्रोल १९९ रुपैयाँ र डिजेल १९९ रुपैयाँ प्रतिलिटर तथा तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल २०० रुपैयाँ र डिजेल/मट्टितेल पनि २०० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
एलपी ग्यासको मूल्य भने प्रति १४.२ केजी सिलिन्डर २,०६० रुपैयाँमै यथावत राखिएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले यस्तो अवस्था सिर्जना भएको निगमले जनाएको छ ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययी हुन आग्रह गर्दै वर्तमान परिस्थितिमा सहयोग र समझदारीका लागि सबै सरोकारवालासँग अनुरोध गरेको छ ।


