सरकारसँग सहमति नभएको हिन्दु सम्राट सेनाको दाबी

जनकपुरधाम, १६ साउन । सरकारसँग सहमति भएको भन्ने प्रचारको हिन्दु सम्राट सेना नेपालले खण्डन गर्दै बन्दसहितका आन्दोलनका पूर्वघोषित कार्यक्रम यथावत् रहने जनाएको छ ।
शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा सरकार र हिन्दुवादी पक्षबीच भएको वार्तापछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सहमति भएको जानकारी दिएका थिए ।
तर, हिन्दु सम्राट सेना नेपालले भने कुनै औपचारिक सहमति नभएको स्पष्ट गरेको छ ।
हिन्दु सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले सरकारलाई बुझाइएको १५ बुँदे मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको आरोप लगाए ।
उनले वार्तामा कुनै सहमतिपत्रमा हस्ताक्षर नभएको र त्यसैले आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताए ।
उनका अनुसार आन्दोलनरत पक्षले आफ्ना माग सरकारसमक्ष राखेको भए पनि ती मागमा कुनै औपचारिक सहमति जुट्न सकेको छैन ।
‘हामीले बुझाएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको हो । कुनै सहमति भएको छैन, त्यसैले बन्दका कार्यक्रम यथावत् रहन्छन्,’ उनले भने ।
महासचिव सनातनीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा कार्यकर्ताले सहमति भएको भन्दै भ्रामक प्रचार गरेको आरोपसमेत लगाए ।
यता, वार्तामा सहभागी गृहमन्त्री सुधन गुरुङले भने सहमति भएको वा नभएको विषयमा स्पष्ट टिप्पणी गरेनन् ।
सञ्चारकर्मीको जिज्ञासामा उनले देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द्व हुन नहुने भन्दै शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिए ।
सरकार र संयुक्त हिन्दु मोर्चाबीच शनिबार दुई चरणमा वार्ता भएको थियो ।
पहिलो चरणको वार्ता दिउँसो २:३० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो भने दोस्रो चरण राति ८ बजेदेखि १० बजेसम्म मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा सम्पन्न भएको थियो ।
वार्ता सम्पन्न भए पनि औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएको हिन्दु सम्राट सेना नेपालको दाबी छ ।
अर्कोतर्फ, प्रमुख जिल्ला अधिकारी लुइँटेलले वार्ता सहमतिमा टुंगिएको बताएका छन् ।
यससँगै वार्ताको परिणामबारे सरकार र आन्दोलनरत पक्षका भनाइ सार्वजनिक रूपमा बाझिएका छन् ।

