जनकपुरधाम, १६ साउन । मधेशमा पछिल्ला दिनदेखि देखिएको तनाव साम्य पार्ने उद्देश्यले जनकपुरधाममा भएको सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीचको वार्ता सहमतिमा टुंगिएको छ ।

शनिबार दुई चरणमा भएको वार्तापछि १३ बुँदे सहमतिमा दुवै पक्ष पुगेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।

वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र पुनःस्थापनासहित १३ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको थियो ।

ती मागहरूलाई सम्बोधन गर्ने दिशामा नेपाल सरकारले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ ।

सहमतिअनुसार हिन्दू राष्ट्रसम्बन्धी विषयमा थप छलफल गर्न सरकारलाई तीन महिनाको समय दिइएको छ ।

उक्त अवधिमा सम्बन्धित पक्षसँग आवश्यक संवाद र परामर्श गरी निष्कर्षमा पुग्ने समझदारी भएको वार्तामा सहभागी अधिकारीहरूले बताएका छन् ।

सुनसरीमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव, प्रदर्शन र साम्प्रदायिक असहजता कम गर्दै शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम गर्ने उद्देश्यले वार्ता आयोजना गरिएको थियो ।

वार्तामा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि तथा आन्दोलनरत हिन्दुवादी मोर्चाका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि शनिबार दिउँसो भएको पहिलो चरणको छलफलमा आन्दोलनरत पक्षले आफ्ना मागहरू औपचारिक रूपमा प्रस्तुत गरेको थियो । त्यसपछि साँझ बसेको दोस्रो चरणको वार्ताले सहमतिको रूप लिएको हो ।