जनकपुरधाम, १६ साउन । मधेशका विभिन्न जिल्लामा जारी आन्दोलन र तनावलाई समाधान गर्ने उद्देश्यले सरकारले जनकपुरधाममा आन्दोलनरत पक्षसँग दोस्रो चरणको वार्ता सुरु गरेको छ ।

वार्तामा संघ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व गर्दै गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेशका अर्थमन्त्री युवाराज भट्टराई, गृह तथा सञ्चारमन्त्री फकिरा महतो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झालगायत सहभागी छन् ।

यसअघि शनिबार दिउँसो भएको पहिलो चरणको वार्तामा सहमति हुन नसकेपछि पुनः दोस्रो चरणको संवाद सुरु गरिएको हो ।

दुवै पक्षले जारी तनाव अन्त्य गर्दै सहमतिमा पुग्ने प्रयास गरिरहेका छन् ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।

त्यसपछि सिरहाको गोलबजारमा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको थियो ।

यही परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ मधेशका प्रभावित जिल्लामा पुगेर आन्दोलनरत पक्षसँग संवाद, सुरक्षा अवस्थाको अनुगमन तथा समाधानका प्रयासमा जुटेका छन् ।

सरकार र आन्दोलनकारीबीच भइरहेको वार्तापछि केही जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।

प्रशासनले केही स्थानबाट कर्फ्यु हटाइसकेको भए पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा हटाइएको छैन ।

सरकारी पक्षले वार्ता र संवादमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ ।