सुरक्षा संवेदनशीलता देखाउँदै सद्भाव र्याली स्थगित

सिरहा, १६ साउन । सिरहाको लहानमा शनिबार आयोजना गर्ने तयारी गरिएको सद्भाव र्याली जिल्ला प्रशासन कार्यालयको अनुरोधपछि स्थगित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका र उद्योग वाणिज्य संघ लहानलाई पत्राचार गर्दै वर्तमान शान्ति सुरक्षा अवस्थाको विश्लेषणका आधारमा हाल सद्भाव र्याली आयोजना गर्न उपयुक्त नदेखिएको जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा हस्ताक्षरित पत्रमा १६ साउनका लागि तय गरिएको सद्भाव र्याली अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्न अनुरोध गरिएको उल्लेख छ ।
प्रशासनले पछिल्लो समय जिल्लाको सुरक्षा अवस्था र सम्भावित संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय लहानलाई आवश्यक समन्वय तथा सुरक्षा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।
पछिल्ला दिनहरूमा मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव र शान्ति सुरक्षासँग सम्बन्धित गतिविधि बढिरहेका बेला प्रशासनले सतर्कता अपनाउँदै सार्वजनिक कार्यक्रमहरूमा विशेष निगरानी गरिरहेको छ ।


