सामाजिक सद्भाव भड्काएको आरोपमा मधेश र कोशीका सात जिल्लाबाट ६५ जना पक्राउ

जनकपुरधाम, १६ साउन । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मधेश र कोशी प्रदेशका सात जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार २०८३ साउन १३ गतेदेखि १६ गते बिहान ९ बजेसम्मको अवधिमा सामाजिक सद्भाव बिगार्ने, उत्तेजक गतिविधि गर्ने तथा हिंसा भड्काउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीको विवरणअनुसार सबैभन्दा बढी धनुषाबाट ४५ जना पक्राउ परेका छन् ।
त्यस्तै, सिरहाबाट ५ जना, सर्लाहीबाट ४ जना, महोत्तरीबाट २ जना, पर्साबाट १ जना, सप्तरीबाट १ जना र सुनसरीबाट २ जना पक्राउ परेका छन् ।
पछिल्लो समय मधेश तथा कोशी प्रदेशका केही जिल्लामा भएका घटनापछि सामाजिक सञ्जाल तथा सडक प्रदर्शनमार्फत सद्भावमा असर पार्ने गतिविधि बढेको भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ ।
नेपाल प्रहरीले विभिन्न समुदायबीचको आपसी एकता र सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव खलल पार्ने गतिविधिमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

