सप्तरी, १६ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन र धार्मिक सहिष्णुता कायम राख्न सर्वसाधारणलाई अपिल गरेको छ ।

पछिल्लो समय सामाजिक तथा धार्मिक विषयलाई लिएर उत्पन्न हुन सक्ने तनावलाई मध्यनजर गर्दै प्रशासनले भ्रामक सूचना, उत्तेजक सामग्री र द्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शनिबार जारी गरेको सूचनामार्फत सामाजिक सञ्जालबाट धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा उत्पन्न गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने खालका सामग्री प्रकाशन, पुनःप्रकाशन, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन् ।

प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालका गतिविधिमाथि निगरानी भइरहेको जनाएको छ । त्यस्ता सामग्री पोस्ट वा सेयर भएको भए तत्काल हटाउन समेत अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि आन्दोलन वा प्रदर्शनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न प्रशासनले सचेत गराएको छ ।

आन्दोलनमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने भन्दै बालबालिकालाई सहभागी नगराउन पनि आग्रह गरिएको छ ।

प्रशासनले सामाजिक सद्भावमा खलल पुर्‍याउने, धार्मिक भावनामा चोट पुर्‍याउने वा कानुन हातमा लिन खोज्ने जो–कोहीमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रशासनले शान्ति र सद्भाव कायम राख्न नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।