जनकपुरधाम, १६ साउन । मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउने उद्देश्यसहित गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरधाममा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग वार्ता सुरु गरेका छन् ।

सामाजिक सद्भाव कायम गर्दै शान्ति सुरक्षा अवस्था सहज बनाउन गृहमन्त्री गुरुङले आन्दोलनकारी पक्षसँग प्रत्यक्ष छलफल अघि बढाएका हुन् ।

वार्ताका क्रममा पछिल्ला घटनाक्रम, पीडितका माग र समाधानका उपायबारे छलफल भइरहेको जनाइएको छ ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको थियो ।

त्यसपछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि तनाव थप बढेको थियो ।

घटनापछि मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन, निषेधाज्ञा र कर्फ्युजस्ता सुरक्षा उपाय अपनाइएको थियो ।

पछिल्लो समय प्रशासन र आन्दोलनरत पक्षबीच संवाद सुरु भएपछि केही स्थानको अवस्था क्रमशः सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ ।

गृहमन्त्री गुरुङ मधेशका विभिन्न जिल्लाको स्थलगत अवस्था बुझ्दै सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेका छन् । उनले संवाद र सहमतिका माध्यमबाटै उत्पन्न समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रशासनले जोखिमपूर्ण क्षेत्रको निगरानीलाई निरन्तरता दिँदै आवश्यक सुरक्षा व्यवस्था कायम राखेको छ ।

केही जिल्लामा कर्फ्यु खुकुलो बनाइएको भए पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छैन ।