मौखिक सहमतिपछि कालापानीमा अवरुद्ध बीपी राजमार्ग खुल्यो

महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयले अवरुद्ध गरेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
आन्दोलनरत पक्ष र जिल्ला प्रशासन कार्यालयबीच भएको मौखिक सहमतिपछि शनिबार अवरुद्ध सडक खोलिएको हो ।
स्थानीयका माग सम्बोधनका लागि कानुनी प्रक्रिया र आवश्यक समन्वय गर्ने प्रतिबद्धता प्रशासनले जनाएपछि सडक अवरोध हटाइएको हो । राजमार्ग खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन पुनः सञ्चालनमा आएका छन् ।
यसअघि राजमार्ग अवरुद्ध भएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार सारुमगर बर्दिबास पुगेर आन्दोलनरत स्थानीयसँग छलफल गरेका थिए ।
छलफलका क्रममा तत्काल लिखित सहमति गर्न नसकिए पनि कानुनको दायराभित्र रहेर समस्याको समाधान खोज्ने प्रशासनको प्रतिबद्धतापछि स्थानीयले सडक खुलाएका हुन् ।
स्थानीयले डिभिजन वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको र सरकारी गाडीमा आगजनी गरेको आरोपमा दर्ता गरिएको मुद्दा फिर्ता गर्नुपर्ने माग राख्दै शनिबार बिहानैदेखि बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।
आन्दोलनका कारण बर्दिबास हुँदै काठमाडौंलगायत विभिन्न गन्तव्यतर्फ जाने सयौं सवारीसाधन रोकिँदा यात्रुहरू समस्यामा परेका थिए ।
विवाद गत जेठ ११ गतेदेखि सुरु भएको थियो । वन क्षेत्र अतिक्रमण हटाउने सूचना दिन कालापानी पुगेका डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सोही क्रममा कार्यालयको बा २ झ २७४९ नम्बरको सरकारी सवारीसाधनमा आगजनी भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
स्थानीयले भने उक्त मुद्दा झुटा र अन्यायपूर्ण भएको दाबी गर्दै फिर्ताको माग गर्दै आएका छन् । प्रशासनले कानुनी प्रक्रियाबाट समस्या समाधान गर्ने बताए पनि स्थानीयको मुख्य माग मुद्दा खारेजी रहेको छ ।

