लहानको कर्फ्यू हट्यो, गणेश यादवको शव नआएसम्म गोलबजारमा निषेधाज्ञा कायमै

सिरहा, १६ साउन । सिरहाको लहान क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ भने गोलबजार क्षेत्रमा भने कफ्र्यु यथावत् राखिएको छ ।
जिल्ला प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै लहानको कर्फ्यू हटाउने निर्णय गरे पनि गोलबजारको अवस्था अझै संवेदनशील रहेको भन्दै प्रतिबन्ध जारी राखेको हो ।
सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि त्यसको विरोधमा गोलबजारमा प्रदर्शन भएको थियो । सोही क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
यादवको परिवारसँग सहमति भए पनि गोलबजार क्षेत्रमा अझै तनावको अवस्था रहेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृतक गणेश यादवको शव गोलबजार नल्याएसम्म त्यहाँ लगाइएको कर्फ्यू हटाइने छैन ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । स्थानीय प्रशासनले सबै पक्षलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।
यसअघि गणेश यादवको परिवार र सरकारबीच घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीलगायतका विषयमा सहमति भएको थियो । सहमतिपछि पनि गोलबजार क्षेत्रमा पूर्ण रूपमा अवस्था सामान्य नभएकाले प्रशासनले निगरानी बढाएको जनाएको छ ।

