दशरथ युवा कमिटीको सरकारसँग माग– नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गरियोस्

जनकपुरधाम, १६ साउन । दशरथ युवा कमिटीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिदहरूको सम्मानलाई जोड दिँदै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।
कमिटीका अध्यक्ष लव कुमार झाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो धारणा सार्वजनिक गरिएको हो ।
विज्ञप्तिमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानको सम्मान गर्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरिएको छ । शहीदहरूले देखाएको मार्गमा अघि बढ्दै उनीहरूको सपना साकार पार्नुपर्नेमा पनि जोड दिइएको छ ।
कमिटीले नेपालको ऐतिहासिक पहिचान, धार्मिक परम्परा र सांस्कृतिक विरासतको संरक्षणका लागि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग दोर्होयाएको छ । बहुसंख्यक नेपाली नागरिकको धार्मिक आस्था र भावनाको सम्मान गर्दै सनातन धर्म तथा संस्कृतिको संरक्षणका लागि हिन्दू राष्ट्रको अवधारणालाई पुनस्र्थापना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यससँगै, पछिल्ला दिनमा देखिएका सामाजिक तथा साम्प्रदायिक तनावप्रति चासो व्यक्त गर्दै कमिटीले सबै समुदायबीच आपसी विश्वास, भाइचारा र सहिष्णुता कायम राख्न आग्रह गरेको छ । कुनै पनि प्रकारका साम्प्रदायिक द्वन्द्व, विभाजन वा राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन सबै नागरिकलाई अपिल गरिएको छ ।
दशरथ युवा कमिटीले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सुदृढ बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ ।
अध्यक्ष झाले संवाद, सहकार्य र आपसी समझदारीमार्फत मात्र मुलुकमा स्थायी शान्ति र समृद्धि कायम गर्न सकिने उल्लेख गरेका छन् ।


