जनकपुरधाम, १६ साउन । राम युवा कमिटी जनकपुरधामले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज, सिरहाको गोलबजार तथा तराई मधेशका विभिन्न जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

कमिटीका अध्यक्ष सरोज कुमार साहद्वारा शनिबार जारी विज्ञप्तिमा पछिल्ला घटनालाई अत्यन्त संवेदनशील र दुःखद भन्दै त्यसबाट सिर्जित तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । साथै, यस्ता घटनाले सामाजिक सद्भाव र आपसी विश्वासमा असर पुर्याएको उल्लेख गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरिएको छ ।

विज्ञप्तिमा सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको गोलबजार घटनामा मृत्यु भएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घटनामा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कमिटीले नेपाल सरकार र सम्बन्धित प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न तथा यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेको छ ।

विज्ञप्तिमार्फत नागरिक, धार्मिक तथा सामाजिक अगुवा, विभिन्न संघसंस्था, क्लब तथा सरोकारवाला सबै पक्षलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ ।

कुनै पनि बहानामा उद्योग, व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन र सामाजिक तथा धार्मिक सहिष्णुता जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । कमिटीले विज्ञप्तिमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसमेत उठाएको छ ।

अध्यक्ष सरोज कुमार साहले जारी गरेको विज्ञप्तिमा वर्तमान संवेदनशील अवस्थामा संवाद, कानुनी प्रक्रिया र आपसी सहकार्यबाट मात्रै दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई कुनै पनि प्रकारको मानवीय, आर्थिक, सामाजिक, सांस्कृतिक वा धार्मिक क्षति हुन नदिने वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरिएको छ ।