देवानगञ्ज घटनामा न्यायको माग गर्दै संयुक्त हिन्दु मोर्चाको १२ बुँदे ज्ञापनपत्र

जनकपुरधाम, १६ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर संयुक्त हिन्दु मोर्चाले १२ बुँदे मागसहितको ज्ञापनपत्र प्रतिनिधिसभा सदस्य मनिष झालाई बुझाएको छ ।
घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग मोर्चाले औपचारिक रूपमा माग गरेको हो ।
मोर्चाले देवानगञ्ज घटनालाई गम्भीर सुरक्षा र मानवअधिकारसँग जोडिएको विषय भन्दै घटनामा संलग्न व्यक्ति तथा योजनाकारलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । साथै, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, गोली चलाउने व्यक्तिहरू र घटनाका योजनाकारको पहिचान खुलाउन पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा मृतकका परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन, परिवारका एक सदस्यलाई सरकारी रोजगारी दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग समेटिएको छ ।
त्यसैगरी प्रशासनिक लापरबाही भएको दाबी गर्दै जिम्मेवार अधिकारीमाथि कारबाही गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, नागरिकताको छानबिन गर्नुपर्ने, मस्जिद र मदरसाको अनुगमन गर्नुपर्ने तथा हज यात्रा समितिलगायत केही संवैधानिक र नीतिगत विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
मोर्चाले आफ्ना मागहरू समयमै सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रतिनिधिसभा सदस्य मनिष झाले संवाद र वार्तामार्फत समस्या समाधानको वातावरण बन्न थालेकोमा खुसी व्यक्त गरे । उनले सबै पक्षबीच सहमतिमार्फत समाधान खोजिने विश्वास व्यक्त गर्दै जनकपुरधामको अवस्था चाँडै पूर्ण रूपमा सामान्य बन्ने अपेक्षा रहेको बताए ।
यसैबीच, संयुक्त हिन्दु मोर्चाका प्रतिनिधि र गृहमन्त्री सुदन गुरुङबीच शनिबार जनकपुरधाममा वार्ता हुने तयारी गरिएको छ । वार्तामा पछिल्ला घटनाक्रम, शान्ति सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा मोर्चाले अघि सारेका मागबारे छलफल हुने जनाइएको छ ।

