जनकपुरधाममा कर्फ्यू हट्यो, निषेधाज्ञा भने कायमै

जनकपुरधाम, १६ साउन । धनुषाको जनकपुरधाम तथा आसपासका संवेदनशील क्षेत्रमा लागू गरिएको कर्फ्यू शनिबार बिहान १० बजेदेखि हटाइएको छ ।
यद्यपि, शान्ति सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले ती क्षेत्रमा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा भने यथावत् रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार साउन १४ गते दिउँसो ३ः३० बजेदेखि लागू गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा शनिबारदेखि हटाइएको हो ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा परिस्थिति क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जनाएको छ ।
यद्यपि, निषेधाज्ञा कायम रहेकाले तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन वा अन्य समूहगत गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले आदेशको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रभित्र उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रबाट हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन् ।
पछिल्ला केही दिनयता उत्पन्न तनावपूर्ण अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरेको थियो । अहिले जनजीवन क्रमशः सामान्य बन्दै गए पनि सम्भावित अप्रिय घटना रोक्न र शान्ति सुरक्षा सुनिश्चित गर्न निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।


