जनकपुरधाममा बृहत् सद्भाव र्याली, शान्ति र सामाजिक एकताको सन्देश; लगत्तै युवाको विरोध प्रदर्शन

जनकपुरधाम, १६ साउन । पछिल्ला केही दिनदेखि तनाव, प्रदर्शन र कर्फ्यूको अवस्थाबाट प्रभावित जनकपुरधाममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बृहत् सद्भाव र्याली आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आयोजित र्याली जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भई नगरका विभिन्न मुख्य सडक तथा चोकहरूको परिक्रमा गर्दै सम्पन्न भएको थियो ।
र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले ‘सामाजिक एकता कायम गरौँ’, ‘शान्ति र सद्भाव कायम गरौँ’ लगायतका नारासहित नगरमा शान्ति र सहिष्णुताको वातावरण बनाउन सबै पक्षलाई आह्वान गरेका थिए ।
र्यालीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको पहिचान नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचको सहअस्तित्व र सद्भावमा आधारित रहेको उल्लेख गर्दै त्यो ऐतिहासिक विरासत जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला सभ्यता र संस्कृतिले सदैव शान्ति, सहिष्णुता र सद्भावको सन्देश दिँदै आएको उल्लेख गर्दै सामाजिक एकता कायम राख्न सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नेपालको राजनीतिक परिवर्तनहरू शान्तिपूर्ण आन्दोलनबाट सम्भव भएको स्मरण गराउँदै आफ्ना माग र असन्तुष्टि पनि वार्ता तथा शान्तिपूर्ण माध्यमबाट राख्न आन्दोलनरत पक्षसँग आग्रह गरे ।
यद्यपि, सद्भाव र्याली सम्पन्न भएको केहीबेरमै जनकपुरधाममा युवाहरूको एक समूहले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले सुनसरी र सिरहामा भएका घटनाका दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
पछिल्ला घटनाक्रमका कारण तनावग्रस्त बनेको जनकपुरधाममा प्रशासनले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन तथा अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन पुनः आग्रह गरेको छ ।

