महोत्तरी, १६ साउन । शनिबार बिहानदेखि महोत्तरीको बर्दिबासस्थित कालापानी वन प्रकरणलाई लिएर स्थानीयवासीले वीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

निर्दोष स्थानीयमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै उनीहरूले सडकमा ढाट, मुढा तथा अन्य अवरोध राखेर चक्का जाम गरेका हुन् ।

राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम तथा वीपी राजमार्ग हुँदै आवतजावत गर्ने दर्जनौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने लामो दूरीका यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।

आन्दोलनरत स्थानीयले कालापानी वन प्रकरणमा दर्ता भएका मुद्दा तत्काल फिर्ता लिन, डिभिजन वन कार्यालय बर्दिबासका प्रमुखमाथि कारबाही गर्न तथा यसअघि भएका सहमतिहरू कार्यान्वयन गर्न माग गरेका छन् । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको चेतावनी छ ।

यसअघि गत बुधबार बसेको सर्वदलीय बैठकले घटनामा आरोपित स्थानीय निर्दोष रहेको निष्कर्ष निकाल्दै प्रशासनलाई तीन दिनभित्र मुद्दा फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर, तोकिएको समयभित्र माग सम्बोधन नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको स्थानीयको भनाइ छ ।

विवादको शुरुवात गत जेठ ११ गते भएको थियो । वन क्षेत्रभित्र रहेका बस्ती हटाउने सूचना दिन पुगेका डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले घेरा हालेर रोकेका बेला कार्यालयको सरकारी गाडीमा आगजनी भएको थियो । त्यसपछि घटनासम्बन्धी मुद्दा दर्ता गरिएपछि स्थानीय र वन कार्यालयबीचको विवाद थप चर्किएको हो ।

गृह मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक, ऐलानी, पर्ती तथा वन अतिक्रमण हटाउने अभियानअन्तर्गत डिभिजन वन कार्यालयले कालापानीसहित आसपासका क्षेत्रमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको थियो । वन कार्यालयका अनुसार राजाबास, कालापानी र वरडाँडालगायत क्षेत्रमा करिब एक हजार एक सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी बस्ती विस्तार गरिएको दाबी गरिएको छ ।

स्थानीयले भने आफूहरूमाथि अन्यायपूर्ण रूपमा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै वार्तामार्फत समाधान खोज्न सरकारसँग माग गरेका छन् । उता, राजमार्ग अवरुद्ध भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने यातायात सञ्चालन गराउने प्रयास जारी रहेको जनाइएको छ ।