धनुषामा पाँच घण्टाका लागि कर्फ्यू खुकुलो, शनिबार बिहान ५ देखि १० बजेसम्म छुट

जनकपुरधाम, १५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी कर्फ्यूलाई शनिबार बिहान पाँच घण्टाका लागि आंशिक रूपमा खुकुलो बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा शुक्रबार जारी सूचनाअनुसार साउन १६ गते शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म सर्वसाधारणलाई दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यूमा अस्थायी छुट दिइएको हो ।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
सूचनाअनुसार यसअघि जारी गरिएको कर्फ्यू आदेश भने यथावत् कायम रहनेछ ।
प्रशासनले कर्फ्यू अवधिभर पनि अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, पानी र दूध बोकेका सवारीसाधन, शववाहन तथा फोहोर व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू नियमित सञ्चालनमा रहने जनाएको छ ।
यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्याउन जाने व्यक्तिले परिचयपत्र वा आवश्यक प्रमाणका आधारमा आवतजावत गर्न सक्ने प्रशासनले स्पष्ट पारेको छ ।


