गृहमन्त्रीको टोली पुग्नुअघि गोलबजारमा तनाव

सिरहा, १५ साउन । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा गृहमन्त्रीको टोली पुग्नुअघि स्थानीय र सुरक्षा निकायबीच तनाव सिर्जना भएको छ ।
गृहमन्त्री सुधन गुरुङ मृतक यादवको परिवारलाई भेट्न जाने भएपछि सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधनलाई स्थानीयले मृतकको घर अगाडि घेराउ गरेका छन् ।
स्थानीयले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूलाई तत्काल रिहाइ गर्नुपर्ने माग राख्दै विरोध जनाएका छन् ।
उनीहरूले न्यायको माग गर्दै भइरहेको प्रदर्शनमा सहभागी केही व्यक्तिमाथि ‘सामाजिक तथा साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोप लगाएर नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएका हुन् ।
सुनसरीमा भएको घटनाको विरोधमा बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
घटनापछि स्थानीय क्षेत्रमा आक्रोश बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मृतक परिवारसँग भेट गरी घटनाबारे जानकारी लिन गृहमन्त्री गुरुङ गोलबजार पुग्न लागेका हुन् ।
स्थानीयले भने पीडित परिवारलाई न्याय, घटनाको निष्पक्ष छानबिन र पक्राउ परेकाहरूको रिहाइको माग गर्दै दबाब दिइरहेका छन् ।









