मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ, सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको प्रहरीको आरोप

जनकपुरधाम, १५ साउन । सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले मधेश प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेहरू सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाका हुन् ।
पछिल्ला दिनमा मधेशका विभिन्न स्थानमा भएका प्रदर्शन तथा तनावपूर्ण अवस्थापछि सुरक्षा निगरानी कडा बनाइएकै क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै धनुषाबाट १९ जना पक्राउ परेका छन् । त्यसपछि सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ तथा पर्साबाट १ जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा सार्वजनिक व्यवस्था भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।
साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह फैलाउने, हिंसा भड्काउने तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।
सुरक्षा निकायले मधेशका संवेदनशील क्षेत्रमा निगरानी अझ कडा पार्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न आवश्यक सुरक्षा व्यवस्था निरन्तर सुदृढ बनाइएको जनाएको छ ।

